जम्मु कस्मिर आतंकी हमलामा बुटवलका सुदीप न्यौपानेको मृत्यु भएको पुष्टि

शव दिउँसो १ नेपाल ल्याइने
वैशाख १०, २०८२ |अमृता अनमोल
जम्मु कस्मिर आतंकी हमलामा बुटवलका सुदीप न्यौपानेको मृत्यु भएको पुष्टि

बुटवल । भारतको जम्मु कस्मिरमा भएको आतंकवादी हमलामा मारिएका नेपाली युवा बुटवलका सुदीप न्यौपाने रहेको पुष्टि भएको छ।

जम्मू कस्मिरस्थित पहलगाममा पर्यटकहरूलाई लक्षित गरी भएको आतंकवादी हमलामा बुटवल उपमहानगरपालिका १४ स्थायी घर भएका २७ वर्षीय सुदीप न्यौपानेको मृत्यु भएको हो।

उहाँ पछिल्लो समय आमासहित बुटवल १० कालिकानगरमा बस्दै आउनुभएको थियो । बुटवल उपमहानगरपालिका १४ का वडाअध्यक्ष दधिराम न्यौपानेले उक्त आतंकवादी हमलामा बेलभोरिया स्थायी घर भएका न्यौपानेको मृत्यु भएको बताउनुभयो ।

मृतकका मामा गोपाल भण्डारीकाअनुसार सुदीप गत शनिबार दिदीभिनाजुसहित सहित कस्मिर घुम्न जानुभएको थियो । परिवारका अन्य सदस्य भने सकुशल रहेका छन्। सुदीपको शव दिउँसो १ बजे नेपाल ल्याउने तयारी भइरहेको छ।

परिवारका अन्य सदस्यहरु शव लिन काठमाडौं गएका छन् । यद्यपि सरकारी तवरबाट सहकार्य र समन्वयको पहल नभएको मृतकका मामा भण्डारीले बताउनुभयो ।

मंगलबार दिउँसो ३ बजेतिर बैसरन उपत्यका क्षेत्रमा भएको हमलामा एक नेपालीसहित कम्तीमा २७ जनाको मृत्यु भएको थियो ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।