६ वर्षमा ३० प्रतिशत मात्र प्रगति : बुटवलको तिनाउ-दानव करिडोर अलपत्र

फाल्गुन ३०, २०८२ |अमृता अनमोल
६ वर्षमा ३० प्रतिशत मात्र प्रगति : बुटवलको तिनाउ-दानव करिडोर अलपत्र

बुटवल । बुटवलबाट नदी किनारैकिनार भारतीय सिमासम्म पुग्ने योजनासहित तिनाउ दानव करिडोर निर्माण सुरू भएको छ ।

तर, नदी छेउका वासिन्दाको अवरोधले ४ अर्ब बढीको योजना अलपत्र जस्तै छ । बुटवलको तिनाउ र दानव नदीको दायाँवायाँ दुई-दुई लेनको सडक बनाउनेगरी तिनाउ दानव करिडोर निर्माण सुरू भएको ६ वर्ष पुग्यो । आर्थिक वर्ष ७६/०७७ मा ४ अर्ब १० करोड ७५ लाख रूपैयाँ लागतमा तिनाउ दानव करिडोर निर्माण थालिएको हो । 

संघीय सरकारले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत करिडोर निर्माण सुरू गरेको थियो । तर, कछुवा गतिमा रहेको तिनाउ दानव करिडोर कहिले पूरा हुने हो टुंगो छैन । बुटवलबाट नदी किनारैकिनार भारतीय सिमासम्म पुग्ने योजनासहित तिनाउ दानव करिडोर निर्माण सुरू भएको हो । 

पहिलो चरणमा ५० किलोमिटर क्षेत्रफलमा करिडोर बनाउन तिनाउ र दानव नदीको दायाबाया गरी करिब ३० किलोमिटर सडकमा चारवटा ठेक्का लागेका छन् । विवादले काम हुन नसक्दा अहिलेसम्म भौतिक प्रगति जम्मा ३० प्रतिशत भएको छ भने ३१ .७१ प्रतिशत वित्तिय प्रगति भएको छ । 

रकमका हिसाबले अहिलेसम्म ६६ करोड ८४ लाख ५२ हजार १ सय २५ रूपैयाँ भुक्तानी भएको छ । करिडोर क्षेत्रमा बुटवलका झन्डै दुई हजार बासिन्दा छन् । नदी किनार ओगटेर बसेका सर्न नमान्दा करिडोर निर्माण अलपत्र छ । नदीको दीर्घकालीन व्यवस्थापन, सहज सडक संजाल र पर्यापर्यटनको विकासका लागि बुटवलको तिनाउ र दानव नदीको दायावाया दुई लेनको करीडोर निर्माण थालिएको हो । 

तिनाउ दानव करिडोरलाई मर्चवार हुँदै भारतीय सिमानासम्म पुर्याउने योजना अनुसार बाँकी ८० किलोमिटर क्षेत्रफलको समेत विस्तृत अध्ययन भएको छ । अहिले काम सुरू भएको ५० किलोमिटर क्षेत्रमा ६ वर्षअघिको सर्वेक्षणमा सरकारले ७ सय ३७ घर सार्नुपर्ने तथ्यांकसहित स्थानीय तहमार्फत अन्त जग्गा नहुनेलाई मात्र अन्यत्र बसोबासको सुविधा दिने योजना ल्याएको थियो । तर, करिडोर क्षेत्रका बासिन्दालाई कहा स्थानान्तरण गर्ने योजना बनेको छैन । यसले गर्दा करीडोर क्षेत्रका वासिन्दा अहिले पनि आन्दोलित छन् ।

पाल्पाबाट सुरू भई चुरेबाट भेल लिएर बग्ने तिनाउ र दानव नदी किनारमा बाक्लो बस्ती बसी सकेको छ । जुन तिनाउ दानव करिडोरमा पर्छ । यने बस्ती नहटाइकन तिनाउ दानव करिडोर अगाडि बढ्न सक्ने देखिँदैन । यसर्थ सरकारले बजेट विनियोजन गर्ने मात्र होइन यो वस्ती हटाउन पनि उचित योजना ल्याउन जरूरी छ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।