नवलपरासी । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्नेमा सुख्खा पहिरो गएको छ । बुटवल-नारायणगढ सडक विस्तारका क्रममा पहाड काट्ने र पर्खाल लगाउने काम चलिरहँदा पहिरो गएको हो ।
साना सवारी र यात्रुवाहक बसका यात्रु झारेर सवारी पास भइरहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो ।
अहिलेसम्म यात्रुवाहक सवारी नरोकिए पनि पहिरोका कारण जुन सुकै समय सडक बन्द हुन सक्ने भएकाले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।
सडक विभाग र प्रशासनसँग समन्वय गरेर मर्मत र सडकको विकल्पबारे छलफल भइरहेको पनि उहाँले जनाउनु भयो । यो खण्डमा चल्ने मालवाहक र ठूला सवारीलाई पूर्वतर्फ दुम्किबास र पश्चिमतर्फ बर्दघाटमा रोकिएको छ । सडक एकतर्फी भएपछि दाउन्नेमा सवारी जाम छ ।