सिरहा । चार महिनाअघि यौन दुर्व्यहारमा परेकी २४ वर्षीया आनन्दीदेवी सदाय मंगलबार दिउँसो आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिनुभयो । उहाँले घटना भएकै दिन प्रहरीमा जाहेरी दिनुभएको थियो । तर, दोषीलाई कारबाही गर्नुको साटो केही स्थानीय र प्रहरीले नै घटना मिलाउन प्रयास गर्दै आएको तथ्य बाहिरिएको छ ।
सिरहाको नवराजपुर गाउँपालिका-३ स्थित जगतपुर दोनवारी टोलकी मुसहर समुदायकी २४ वर्षीया आनन्दीदेवीमाथि पुस ९ गते गाउँकै पोखरी छेउको आँप बगैंचामा स्थानीय २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले जबरजस्ती करणीको प्रयास गरेका थिए । घटना भएकै दिन पीडितका तर्फबाट प्रहरीमा जबर्जस्ती करणी उद्योगको जाहेरी परेको थियो । तर, आलटाल गर्दै आएको इलाका प्रहरी कार्यालय, महेशपुर पतारले पीडित मिडियामा जाने तयारी गरेपछि भने अढाइ महिनापछि फागुन २५ मा बल्ल जाहेरी दर्ता गरेको थियो ।
यसबीचमा घटना गाउँमै मिलाउन प्रयास भएको पाइएको छ । आरोपित सञ्जीवका बुवा उपेन्द्र यादव र श्यामसुन्दरका बुवा शिवदत्त यादव, स्थानीय नरेन्द्र यादव लगायतका व्यक्तिले २ लाख रुपैयाँ लिएर मिल्न पीडितलाई पटकपटक दबाब दिएका थिए ।
“ती केटाहरू मेरो छोरीलाई पनि पैसा लिएर मिल्न धम्की दिने गर्थे । दुवै केटाका बुबा, गाउँकै नरेन्द्र यादव लगायत मान्छेहरू पनि मेरो घर आएर समाजमै बस्नुछ, दुई लाख रुपैयाँ लिएर मिल्नु भनेका थिए । तर, म पैसाको भोको होइन, म लड्छु भनेर जवाफ दिएँ”, मृतक आनन्दीदेवीकी आमा बिल्टौनदेवी सदायले बताउनुभयो ।
पीडकका मान्छेले मात्रै होइन, पीडितको जाहेरीको आधारमा अनुसन्धान गरी पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा दायित्व भएको प्रहरीले पनि पीडितलाई मुद्दाले केही पनि हुन नसक्ने भन्दै गाउँमै मिल्न दबाब दिएको तथ्य बाहिरिएको छ । यसका कारण पीडित निराश हुँदै थप मानसिक तनावमा पर्नुभएको थियो ।
“प्रहरीले तिमीहरू गरिब छौ, कहाँबाट पैसा ल्याउँछौ, नलड, मिलिहाल भन्यो । केटाहरूमाथि मुद्दा दर्ता गर्दा भारत भागिहाल्छन्, हामीले समाउन सक्दैनौं भन्यो । त्यसपछि मैले भने- गरिबको इज्जत केही होइन ?”, प्रहरीले प्रलोभनमा पार्न प्रयास गरेको बिल्टौनदेवीले बताउनुभयो ।
घटनाका आरोपित दुवै जनाविरुद्ध सिरहा जिल्ला अदालतबाट फागुन २६ मा पक्राउ पुर्जी जारी भएको छ । तर, पीडितले पटकपटक सूचना दिँदा पनि प्रहरीले अहिलेसम्म आरोपीतहरूलाई पक्राउ गरेको छैन । उनीहरू भारततिर भागेकोले पक्राउ गर्न समस्या भएको र यो घटनामा सबै कुरा कानुन बमोजिम नै भएको दाबी सिरहा प्रहरीको छ ।
यो घटनामा प्रहरीले निकै बदमासी गरेको र जनप्रतिनिधिको नाताले न्यायका लागि पहल गर्दा पनि प्रहरीले कुनै सुनुवाइ नगरेको स्थानीय जनप्रतिनिधि बताउँछन् ।
यो घटनाको नालीबेला केलाउँदा राज्यका निकायले भुइँतहका नागरिकलाई कसरी नागरिक नै गन्दैन अनि न्याय माग्ने निमुखा नागरिकलाई कसरी निराश बनाउँदै मृत्युको बाटो रोज्य बाध्य बनाउँछ भन्ने कुरा पुष्टि हुछ । यो घटनामा जबरजस्ती करण प्रयास गर्ने मात्रै होइन, घटना मिलाउन खोज्ने स्थानीय अनि न्याय दिन आनाकानी गर्ने प्रहरीमाथि सूक्ष्म छानबिन र कारबाही आवश्यक छ ।