बार एसोसिएसनको अध्यक्षमा कांग्रेस-एमाले प्यानलका विजयप्रसाद मिश्र विजयी

चैत्र २८, २०८१ |किरण पौडेल
बार एसोसिएसनको अध्यक्षमा कांग्रेस-एमाले प्यानलका विजयप्रसाद मिश्र विजयी

काठमाडौं । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र विजयी हुनुभएको छ ।

लोकतान्त्रिक-प्रगतिशील गठबन्धनबाट उम्मेदवार बन्नुभएका वरिष्ठ अधिवक्ता मिश्र ५ हजार ५२ मतसहित विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २ हजार ६ सय २१ मत प्राप्त गर्नुभयो ।

नेपाल बारमा सत्तारुढ एमाले र कांग्रेस निकट कानुन व्यवसायी संगठनले गठबन्धन गरी अध्यक्षमा मिश्रलाई अगाडि सारेका थिए ।

प्रतिपक्षी माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका कानुन व्यवसायीका संगठनले भने रमनकुमार श्रेष्ठको नेतृत्वमा प्यानल बनाएका थिए । अध्यक्षमा निर्वाचित मिश्रले चुनावमा अगाडि सारेका एजेन्डा कार्यान्वयन गर्ने बताउनुभएको छ । नेपाल बारमा धेरै काम गर्नुपर्ने रहेको उल्लेख गर्दै उहाँले काम गरेर देखाउनका लागि आफ्नो टिम लागिपर्ने बताउनुभयो ।

यस्तै, उपाध्यक्षमा कोशीबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा निर्वाचित हुनुभएको छ ।

महासचिवमा मिश्र प्यानलकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा वरिष्ठ अधिवक्ता जगतबहादुर कार्की निर्वाचित हुनुभएको छ ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।