भूकम्प प्रभावित म्यान्मारमा नेपालले पठायाे करिब २७ टन बराबरको राहत सामग्री

चैत्र २८, २०८१ |किरण पौडेल
भूकम्प प्रभावित म्यान्मारमा नेपालले पठायाे करिब २७ टन बराबरको राहत सामग्री

काठमाडौं । भूकम्प प्रभावित म्यान्मारमा नेपालले करिब २७ टन बराबरको राहत सामग्री पठाएकाे छ। नेपालले म्यानमार सरकारलाई करिब २७ टन बराबरको राहत सामग्री हस्तान्तरण गरेकाे हाे।

बुधबार बेलुकी राहत सामग्री लिएर वायु सेवा निगमको चार्टर्ड विमान म्यान्मार गएको थियाे । नेपालले करिब १ करोड ४० लाख रुपैयाँ बराबरको २७ टन राहत सामग्री उपलब्ध गराएको हो। 

राहत सामग्री लिएर परराष्ट्र मन्त्रालयको दक्षिण पश्चिम डिभिजन प्रमुख तपस अधिकारीसहितको १६ सदस्यीय प्रतिनिधिमण्डल बिहान ३  बजे म्यान्मार पुगेको थियो। खाद्यपदार्थ, पकाउन चाहिने भाँडाकुँडा, औषधि, ब्लड ट्रान्सफ्युजन सेट, टेन्टलगायतका सामग्री सहयोग गरिएको छ ।

भुकम्पमा परी १८ जना नेपाली भाषी म्यानमारीको मृत्यु भएको छ । नेपाली सेनाका मेडिकल टाेली यसअघि नै म्यान्मार गएर उपचारमा खटिइरहेका छन्। म्यानमारमा चैत १५ गते ७ दशमलब ७ म्याग्नेच्युडको भूकम्पमा परी अहिलेसम्म ३ हजार ५ सय ९१ जनाको मृत्यु भइसकेको छ भने १ सय ४८ जना बेपत्ता छन्।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।