काठमाडौं । गृहमन्त्री रमेश लेखकले विवाहको उमेरको विषयमा गम्भीर तरिकाले सोच्नुपर्ने बेला भएको बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको छलफलमा भाग लिदै उहाँले बालबालिका सम्बन्धी ऐन संशोधनको प्रक्रिया अघि बढेको जानकारी गराउँदै विवाहको उमेरको विषयमा अत्यन्तै गम्भीर बन्नुपर्ने बताउनुभएको हो ।
गृहमन्त्री लेखकले संशोधनको प्रक्रिया अहिले मन्त्रिपरिषद्मा विचाराधीन रहेको र त्यस विधेयकमा विवाहको उमेर घटाउने विषयमा छलफल गरिरहेको बताउनुभयो । विवाह उमेर घटाउने कि ‘रोमियो जुलियट ल’ अन्तर्गत जाने यसबारेमा छलफल आवश्यक रहेको उहाँले बताउनुभयो । यस विषयमा थप छलफल गरेर सुझाव दिन गृहमन्त्री लेखकले सांसदहरूलाई आग्रह पनि गर्नुभयो ।
समितिमा बोल्ने अधिकांश सांसदहरूले विवाहको उमेर घटाउन उपयुक्त हुने धारणा राखेका थिए । कति सांसदले त अहिलेको विवाह उमेरका कारण सीमान्तकृत समुदायलाई अप्ठेरो परिरहेको पनि बताए ।