काठमाडौं । "प्रथम राष्ट्रिय पानी सम्मेलन २०२५" यही चैत्र ९ र १० गते काठमाडौंमा आयोजना हुने भएको छ ।
विश्व पानी दिवस (मार्च २२) को अवसरमा हुने यो सम्मेलनमा जलस्रोत व्यवस्थापन, जलवायु परिवर्तनको असर, जल-सुशासन, जलविद्युत, सिंचाइ, खानेपानी तथा अन्तरदेशीय जलसहकार्य जस्ता विषयमा छलफल हुनेछ । नेपाल जलस्रोतमा धनी देश भए पनि यसको उचित व्यवस्थापन चुनौतीपूर्ण देखिदै आएको छ ।
जलवायु परिवर्तन, बढ्दो जनसंख्या, र अव्यवस्थित विकासका कारण जलस्रोत संकटमा पर्दै गएको छ भने हिमश्रृंखला पग्लिने, हिमनदी ताल विस्फोट बाढी , तथा जलस्रोतको गुणस्तरमा ह्रास आउने समस्या देखिरहेका छन् ।
जलस्रोतको बहुउपयोग, जल-सुशासन, सिंचाइ, खानेपानी, सरसफाइ, जलविद्युत, र अन्तरदेशीय जलसहकार्यलाई प्रवर्द्धन गर्न सम्मेलन महत्वपूर्ण रहने आयोजकको भनाई छ। प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा उद्घाटन गरिने सम्मेलनमा सरकारी तथा गैरसरकारी संस्थाहरू, विज्ञ, अनुसन्धानकर्ता, तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको उपस्थिति रहनेछ।
सम्मेलनले जलस्रोत संरक्षण, जलवायु अनुकूलन रणनीति, तथा नीति निर्माणमा मार्गदर्शन गर्ने बताइएको छ ।