काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले उजुरी अध्ययनका लागि ७ वटा उपसमिति गठन गरेको छ । समितिको आज बसेको बैठकले उजुरीको वर्गीकरण गरेर अध्ययन गर्न उपसमिति बनाएको हो ।
समितिमा परेका उजुरीमध्ये कुन-कुन हेर्ने भन्दै गठन भएको उपसमितिले ४८ वटा मात्रै लेखा समितिको क्षेत्राधिकारमा पर्ने प्रतिवेदन दिएपछि ७ वटा उपसमिति बनाइएको हो । उपसमितिहरूले ७ दिनभित्र उजुरीसँग सम्बन्धित व्यक्ति र संस्थासँग जानकारी लिने छन् ।
उपसमितिहरूलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ । समितिका सभापति ऋषिकेश पोखरेलले एक महिनाभित्र सवै उजुरीमाथिको अध्ययन सक्ने बताउनुभयो । यस्तै गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययनको काम पनि लेखाको उपसमितिले गरिरहेको छ । अबको १५ दिनभित्र यसको पनि प्रतिवेदन बुझाउन समितिले भनेको छ ।