काठमाडौं । वन तथा वातावरण मन्त्रालयले वनको उचित व्यवस्थापन गर्न नसक्दा डढेलो जस्ता विपद्ले बर्सेनि जनधनको ठूलो क्षति बेहोर्नुपरिरहेको स्वीकार गरेको छ । अन्तर्राष्ट्रिय वन दिवसको अवसरमा वन विभागले आज काठमाडौंमा गरेको कार्यक्रममा मन्त्रालयका सचिव दीपक खरालले करिब ४६ प्रतिशत वनलाई संरक्षण मात्र नभएर विकास र उद्यमसँग जोड्नुपर्ने बताउनुभयो ।
डढेलो लाग्दा बर्सेनि लाखौं रुखविरुवा जलेर ध्वस्त भइरहँदा पनि संरक्षण गर्न नसकिएको उहाँको भनाइ थियो । सचिव खरालले वन पनि संरक्षण हुने र विकासका कामलाई पनि अवरोध नहुने उपाय खोजी गरिने जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय वन दिवसकै अवसरमा ग्रिन फाउन्डेशनले गरेको वन, खाद्यान्न तथा शान्ति संवादमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले सरकारले वनमा गिद्देदृष्टि लगाएको आरोप लगाउनुभयो । उहाँले प्रदेश सरकारले सामुदायिक वनमा हस्तक्षेप गरेको पनि बताउनुभयो । भण्डारीले वनको उचित व्यवस्थापन गर्न नसक्दा बाघले मान्छे खाएको जिकिर गर्दै नेपालमा बाघको व्यवस्थापन गर्नुपर्ने पनि बताउनुभयो ।
संयुक्त राष्ट्रसंघले सन् २०१२ मा वन संरक्षण सम्बन्धी गर्न मार्च २१ का दिन अन्तर्राष्ट्रिय वन दिवस मनाउने प्रस्तावलाई पारित गरेपछि विश्वभर वन दिवस मनाउन थालिएको हो । आजै अन्तर्राष्ट्रिय हिमनदी संरक्षण दिवस पनि मनाइँदै छ ।