स्ववियु निर्वाचन : पाल्पाको शहीद बहुमुखी क्याम्पसको सभापतिमा अखिल संयुक्तका गौतम विजयी

चैत्र ७, २०८१ |माधव अर्याल
स्ववियु निर्वाचन : पाल्पाको शहीद बहुमुखी क्याम्पसको सभापतिमा अखिल संयुक्तका गौतम विजयी

पाल्पा । स्वतन्त्र विद्यार्थी युनियन- स्ववियुको नेतृत्व चयनका लागि पाल्पाको रामपुरस्थित शहीद बहुमुखी क्याम्पसमा भएको निर्वाचनबाट सभापतिमा राजन गौतम विजयी हुनुभएको छ । 

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त प्यानलबाट उम्मेद्वारी दिएका अनेरास्ववियुका गौतम ३०१ मतसहित निर्वाचित भएका हुनुभएको हो ।

गौतमले नेपाल विद्यार्थी संघ (नेवि संघ) का उम्मेदवार कसम मल्ल ठकुरीलाई ४० मतले पछि पार्नुभयो । । मल्लले २६१ मत प्राप्त गर्नुभएको हो। सचिवमा अखिल संयुक्त प्यानलबाट विमल क्षेत्री २८२ मत सहित विजयी हुनुभएको छ । 

प्रतिस्पर्धी वन्दना गैह्रेले २७७ प्राप्त गर्नुभयो । कोषाध्यक्षमा संयुक्त प्यानलबाट सच्चा रेग्मी २९९ मत सहित विजयी हुँदा नेविसंघकी धनकला रानाले २५६ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत त्रिविक्रम खनालले बताउनुभएको छ ।

प्रत्यक्ष तर्फको सदस्यहरुमा नेवि संघबाट २७३ मत सहित सदिक्षा ढकाल, संयुक्त प्यानलबाट २६३ मत सहित निरुता ढेंगा, नेवि संघबाट २६१ मत सहित सविना भण्डारी, नेवि संघबाट २६० मत सहित शशी ढकाल र संयुक्त प्यानलबाट २६० मत सहित इन्द्र बहादुर सोती निर्वाचित भएका छन । शहीद क्याम्पसमा ७ सय १५ मध्ये ५ सय ७१ मत खसेको थियो ।

समानुपातिकतर्फ नेवि संघले २७० र अनेरास्ववियुले २९९ मत प्राप्त गरेको छ । मतगणनाका क्रममा मंगलबार राती केही मत गन्न बाँकी रहँदा स्थगित भएको मतगणना बुधबार साँझ पुनः गरिएको थियो । 

सर्वदलिय सर्वपक्षीय बैठक पश्चात् बेलुकी ८ बजेदेखि मतगणना कार्य पुनः सुरु भएको हो । शहीद बहुमुखी क्याम्पसमा २०४८ सालदेखि नेवि संघले नेतृत्व गर्दै आएको थियो । मतदान सम्पन्न भई मतगणना भइरहेका बेला उत्पन्न असहज परिस्थितिका कारण मतगणना स्थगित भएको थियो ।

केही मत गणना गर्न बाँकी रहँदा विवाद सिर्जना भएकाले नेविसंघका प्रतिनिधि गणनास्थलबाट उठेर हिडेको र बाहिरी वातावरण असहज बनेकाले प्रहरीले तीन राउण्ड हवाई फायर गरेर भीड तितरबितर पारेको थियो । 

पाल्पाकै त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा भने शान्तपूर्वक मतगणना जारी छ । जिल्लाकै दर्छा, उद्धबुद्ध, माण्डव्य बहुमुखी क्याम्पसमा भने निर्विरोध निर्वाचन सम्पन्न भइसकेको छ । तीनवटै क्याम्पसमा अखिलको नेतृत्वमा स्ववियु नेतृत्व चयन भएको छ । 


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।