पाेखरा । त्रिभुवन विश्वद्यिलयका आंगिक र सम्बन्धनप्राप्त पोखराका ६ मध्ये तीन वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन, स्ववियु निर्वाचनको मतदान हुँदैछ भने बाँकी तीन वटा क्याम्पसमा विवादका कारण मतदान रोकिएको छ ।
अहिले पोखराको पोखरा नर्सिङ क्याम्पस, वन विज्ञान अध्ययन संस्थान र पश्चिमाञ्चल इन्जिनियरिङ्ग क्याम्पसमा मतदान भइरहेको छ । तर, पृथ्वीनारायण क्याम्पस (पिएन), विन्दवासिनी संस्कृत विद्यापिठ र जनप्रिय क्याम्पसमा स्ववियु चुनाव भएका छैनन् ।
संस्कृत विद्यापिठ र जनप्रिय क्याम्पसमा विद्यार्थी कै तालाबन्दीका कारण निर्वाचन प्रक्रिया स्थगित भइसकेको छ भने पृथ्वीनारायण क्याम्पसमा मतदान गराउने तयारी भइरहेको छ । .
१६ वर्षपछि हुन लागेको पिएनको स्ववियु निर्वाचनमा बिहान ८ बजेबाट हुने भनिएपनि अखिल छैठौैका उम्मेदवारको नाम मतपत्रमा रहेपनि मतदान गर्ने कोस्टक छुटेपछि मतदान प्रक्रिया शुरु हुन नसकेको हो ।
मतदान शुरु हुन नसक्दा विद्यार्थीहरुले बाहिर नाराबाजी गरिरहेका छन् । त्यसैगरी पोखराकै पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा समेत चुनावी प्रक्रिया सहज रुपमा अगाडि बढेको छैन ।
क्याम्पसको होस्टेलमा रहेका विद्यार्थीले मतदान गरेपनि बाहिरका विद्यार्थीलाई गेटबाट पस्न रोक लगाइएको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अन्तिम नामावलीमा नाम काटिएको भन्दै नेविसंघका नेताहरूले हिजोदेखि क्याम्पस गेटमै अनसन गरेका कारण विद्यार्थीहरु गेटभित्र पस्न पाएका छैनन ।
यता जनप्रिय बहुमुखी क्याम्पसमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित भइसकेपछि तीन विद्यार्थी संगठनले संयुक्त प्यानलसहितको उम्मेदवारी दर्ता गराउन माग राख्दै तालाबन्दी गरेका छन् भने निर्वाचन समिति अधिकृतले राजीनामा दिएका छन् ।
त्यसगरी संस्कृत विद्यापिठमा स्वतन्त्र विद्यार्थीहरुले संघ÷ संगठन दर्ताको क्रममा हाललाई यो निर्वाचन ठीक नभएको भन्दै तालाबन्दी गरेपछि निर्वाचन रोकिएको छ ।