नवनियुक्त आइजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान

पहुँचको नभइ पद्धतिको थिति बसाल्ने महानिरीक्षक थापाको भनाइ
चैत्र ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
नवनियुक्त आइजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आज बिहान गृह मन्त्रालयमा एक समारोहका बीच गृह सचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

सोमवार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । नियुक्तिसँगै थापा नेपाल प्रहरीको ३१औं आइजीपी बन्नुभएको छ ।

दज्र्यानी चिन्ह ग्रहण गरेपछि बोल्दै महानिरीक्षक थापाले आफूले पहुँचको नभइ पद्धतिको थिति बसाल्न प्रयत्न गर्ने बताउनुभयो । अपराधको रोकथाम र अनुसन्धान कुनैपनि बहाना र विकल्प बिना अघि बढाउने प्रतिवद्धता समेत जनाउनुभयो । देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा अमन चयन र कानूनी राज्यको प्रत्याभुति दिलाउन आफूले पहल गर्ने बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीको श्रीवृद्धि गराउँदै मुलुकको शान्ति, सुरक्षा, सुव्यवस्था, सुशासन र अमन चयन कायम गरी सुखी नेपाली र समृद्ध नेपालको लक्ष्यका लागि काम गर्न आग्रह गर्नुभयो । 

उहाँले आफ्नो जिम्मेवारीलाई निष्ठापूर्वक, इमान्दारितका साथ पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले शान्ति सुरक्षा र सुव्यवस्थाको विषय देखिने विषय मात्रै नभइ अनुभुत गर्ने विषय भएकाले आम नागरिकले अनुभुति गर्नेगरी शान्ति सुव्यवस्था कायम गर्नु सबैको कर्तव्य भएको बताउनुभयो ।

आम नागरिकका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको समेत उहाँले बताउनुभयो । उहाँले सरकारप्रति नकारात्मक धारणा आइरहेको अवस्थामा सुरक्षा चुनौति पनि थपिरहेको बताउनुभयो । सडक दुर्घटना न्युनिकरण, लागुपदार्थ दुव्र्यसनका घटना न्युनिकरण गर्न, साइबर अपराधका घटनाहरुको न्युनिकरण जरुरी आवश्यक रहेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement