रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालित मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनअन्तर्गत मतदान जारी छ ।
स्ववियु निर्वाचन हुने रामेछाप जिल्लाकै एकमात्रै यो क्याम्पसमा नेपाली काँग्रेस निकट नेविसंघ, नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अखिल-क्रान्तिकारीका उम्मेदवारहरु चुनावी मैदानमा छन् ।
यो चुनावबाट मन्थली क्याम्पसमा प्रत्यक्ष र समानुपातिक प्रणालीका आधारमा नेतृत्व चयन हुनेछ । प्रत्यक्षतर्फ तीन वटा विद्यार्थी संगठबाट २३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रत्यक्ष निर्वाचनबाट ८ र समानुपातिक प्रणालीबाट ७ गरी १५ सदस्यीय स्ववियु मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस समिति बन्ने निर्वाचन अधिकृत नारद थापाले बताउनुभयो । अध्यक्ष, सचिव र कोषाध्यक्ष र ५ जना सदस्य गरी ८ पदका लागि प्रत्यक्ष निर्वाचन हुनेछ ।
उपाध्यक्ष र सह–सचिवसहित ७ पद समानुपातिक जाने व्यवस्था रहेको छ । मन्थली क्याम्पसमा ५३१ जना मतदाता रहेको निर्वाचन समितिले जनाएको छ। निर्वाचन अपराह्न ४ बजेसम्म चल्ने छ।