काठमाडौं । नेपालमा पानीमा डुबेर दैनिक ५ जनाको मृत्यु हुने गरेको विभिन्न अनुसन्धानले देखाएका छन् । तर सरकारसँग ठोस तथ्यांक छैन । न त यसबारे अध्ययन गर्न चासो नै दिइएको छ । पानीमा डुबेर हुने मृत्यु कम गर्न के गर्नु पर्छ त ?
फागुनको पहिलो साता कैलालीको धनगढीमा पानीमा डुबेर राजपुरका २८ वर्षीय सेवन रानाको मृत्यु भयो । बोरिङबाट निस्केको पानीको खाल्डोमा नुहाउने क्रममा रानाको डुबेर मृत्यु भएको हो । फागुनकै दोस्रो साता पनि चितवनको माडी नगरपालिका-४ खैरहनीमा खाल्डोमा जमेको पानीमा डुबेर ३ वर्षीया मनिषा न्यौपाने र कैलालीको गोदावारी–१ का ३ वर्षीय पियुस विको मृत्यु भयो । सर्लाही कविलासी नगरपालिका पिपरियाकी १४ वर्षिया सियानी खातुनको ज्यान पनि नदीमा डुबेर गयो ।
“मेरी नातिनी १४ वर्षकी थिइन् । उनी नुहाउन नदीमा जाँदा डुबेर मरिन् । सरकारसँग अनुरोध छ, सहयोग गर्नुहोस्, म गरिब मान्छे हुँ”, सियानी खातुनका हजुरबुबा हबिबुल शेखले बताउनुभयो ।
यी त प्रतिनिधि घटना मात्र हुन् । नेपालमा दैनिक ५ जना र मासिक १५० जना र वार्षिक १६ सय जनाको पानीमा डुबेर मृत्यु हुने गरेको अनुसन्धानकर्ताको दाबी छ । यति धेरै मानिसको पानीमा डुबेर मृत्यु हुँदा पनि सरकारले बेवास्ता गरेको आरोप उनीहरूको छ ।
नेपालमा दैनिक धेरै मृत्यु हुने घटना मध्ये पानीमा डुबेर हुने मृत्यु चौथो स्थानमा पर्छ । सबैभन्दा धेरै लडेर मृत्यु हुने गरेको छ भने दोस्रोमा सडक दुर्घटना र तेस्रोमा जलन पर्छ । पानीमा डुबेर दैनिक पाँच जनाले ज्यान गुमाइरहँदा पनि सचेतना कार्यक्रम सञ्चालन गर्न सरकारले नसकेको विज्ञको भनाइ छ ।
अनुसन्धानकर्ताको तथ्यांकअनुसार पानीमा डुबेर सबैभन्दा धेरै १५ देखि २९ वर्ष उमेर समूहका मानिसको ज्यान जाने गरेको छ । त्यसमा पनि ७४ प्रतिशत पुरुष छन् । सरकारले सचेतना अभियान सञ्चालन गरे पानीमा डुबेर हुने मृत्यु कम गर्न सकिने दाबी विज्ञको छ ।