मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजनीतिक दलहरू केन्द्रिकृत मानसिकताबाट हुर्कंदै आएकाले उनीहरूले अहिले पनि संघीयताको उच्चतम अभ्यास स्वीकार गर्न नसकेको बताउनुभएको छ । मुख्यमन्त्री कार्कीले प्रशासनिक क्षेत्र र सुरक्षा निकाय पनि एकात्मक राज्य प्रणालीको अभ्यासबाटै आएकाले संघीयता स्वीकार गर्न समस्या देखिएको बताउनुभयो ।
कान्तिपुर टेलिभिजनको ‘मुख्यमन्त्रीसँग कान्तिपुर’ कार्यक्रममा मुख्यमन्त्री कार्कीले भन्नुभयो, “बहुदलीय व्यवस्थाको प्रारम्भदेखि नै स्थापित राजनीतिक दलहरूको संरचनाबाट हुर्केर आएको हुनाले धेरै कुराहरूको निर्धारण केन्द्रले नै गर्ने गरेको छ ।”
यही कारण केन्द्रको राजनीतिमा केही परिवर्तन हुँदा प्रदेशमा हलचल हुने गरेको उहाँले बताउनुभयो । “केन्द्रमा पानी पर्दा प्रदेशमा बाछिटा आइहाल्ने, प्रदेशमा छाता ओढ्नैपर्ने स्थिति अझै छ,” मुख्यमन्त्री कार्कीले भन्नुभयो, “राजनीतिक क्षेत्र, प्रशासन, सुरक्षा निकाय मात्र होइन, आमनागरिकमा लामो समयदेखि एकात्मक राज्य प्रणालीको अभ्यासबाट आएको हुनाले विकेन्द्रीकरणको पनि उच्चतम प्रयोग संघीयतालाई स्वीकार गर्न नसक्दा समस्या भएको छ ।”
मुख्यमन्त्री कार्कीले प्रदेश सभामा एउटै दलले स्पष्ट बहुमत नल्याउँदा प्रदेश सरकार अस्थिर बनेको बताउनुभयो । “सरकार अस्थिर भएका कारण प्रदेशको विकास निर्माणले गति लिन सकेको छैन, राजनीतिक स्वायित्व र सेवा प्रवाहलाई प्रभावकारी बनाउन दुई ठूला दल मिलेर सरकार गठन गरिएको हो,” उहाँले भन्नुभयो । एकात्मक शासन व्यवस्थाको अभ्यासबाट आएका कारण सबै क्षेत्रले संघीयतालाई स्वीकार नगरेकै कारण प्रदेश सरकारले गति लिन नसकेको मुख्यमन्त्री कार्कीको भनाइ छ ।
कार्यक्रममा सत्तारुढ नेपाली कांग्रेसको कोशी प्रदेश संसदीय दलका उपनेता तथा पूर्वमन्त्री हिमाल कार्कीले प्रदेशको राजनीतिक निर्णयका लागि पनि केन्द्रकै मुख ताक्ने प्रवृत्तिले प्रदेश सरकार अस्थिर बनेको बताउनुभयो ।
प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका नेता तथा कोशीका पूर्वसभामुख एवं पूर्वमन्त्री बाबुराम गौतमले प्रदेशको विकास र आर्थिक वृद्धिको बाधक नै राजनीतिक अस्थिरता भएको बताउनुभयो ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेश सभाको चालु अधिवेशनका लागि सरकारले पर्याप्त बिजनेश दिएको दाबी गर्नुभयो । “राजनीतिक अस्थिरताका कारण विगतका अधिवेशनले धेरै विधेयक पारित गर्न सकेनन्,” उहाँले भन्नुभयो, “चालु छैटौं अधिवेशनका लागि प्रदेश सरकारले प्रशस्त बिजनेश दिएको छ ।”
प्रदेश सभामा ६ वटा विधेयक दर्ता भइसकेको भन्दै मन्त्री भण्डारीले अरू विधेयक पनि प्रदेश सभामा दर्ता हुने प्रक्रियामा रहेको जानकारी दिनुभयो । पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले आर्थिक वृद्धिका लागि पर्यटन क्षेत्रको योगदान महत्त्वपूर्ण हुने भएकै कारण सरकारले २०८२ साललाई पर्यटन वर्ष घोषणा गरेको जानकारी दिनुभयो । पर्यटन वर्षमा पर्यटकीय क्षेत्रको विकास, विस्तार र प्रवर्द्धन गर्नुका साथै नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरी तिनको विकास विस्तार र प्रवर्द्धन गरिने उहाँको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले आर्थिक वृद्धिका लागि कृषिको आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो । कृषिलाई आधुनिकीकरण गरेको अवस्थामा उत्पादन र उत्पादकत्व बढ्नुका साथै रोजगारी पनि सिर्जना हुने भन्दै उहाँले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।
अर्थविद् प्राध्यापक डा. प्रमोदकुमार झा र अर्का प्राध्यापक डाक्टर बलराम पौडेलले रोजगारी सिर्जना गर्ने र आर्थिक वृद्धिमा योगदान गर्ने रणनीतिक योजनामा लगानी गर्न प्रदेश सरकारलाई सुझाव दिनुभयो ।
विराटनगर–५ की आकृति रानी फुयाँलले अपांगता भएकालाई स्वरोजगार बनाउने र सीप विकास र अपांगता भएकाको खेलकुद प्रतियोगिता आयोजना गर्न प्रदेश सरकारसँग माग गर्नुभयो ।
पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ लका विद्यार्थी करणकुमार चौरसियाले पुष्पलाल चोक जस्तो व्यस्त सडकबाट दिनहुँ मुख्यमन्त्री, मन्त्रीलगायत विशिष्ट व्यक्ति आउजाउ गर्ने गरे पनि सुधारमा चासो नदिएको आरोप लगाउनुभयो । “हिँड्ने बाटो वर्षौंसम्म नबन्ने, बनेको पनि गुणस्तरहीन हुने समस्या छ,” उहाँले भन्नुभयो, “महानगरभित्रकै सडकको अवस्था त यस्तो छ भने दूरदराजमा बनेका संरचनाको गुणस्तर कस्तो होला ?”
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका विद्यार्थी योगराज दाहालले महेन्द्र मोरङ क्याम्पसको जग्गा अतिक्रमण भएको भन्दै जमिन संरक्षण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।
झापाका टेकबहादुर खजुमले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न र आर्थिक वृद्धि गर्न घरेलु मदिरालाई ब्रान्डिङ गरी बजारीकरण गर्न सरकारसँग माग गर्नुभयो । घरेलु मदिरालाई ब्रान्डिङ गर्ने भनेर प्रदेश सरकारले चार वर्षअघि नै काम अघि बढाएको भन्दै उहाँले घरेलु मदिरालाई ब्राडिङ गरी रोजगारी सिर्जना गर्ने योजना कहाँ पुग्यो भनी प्रदेश सरकारसँग प्रश्न गर्नुभयो ।
सुनसरी देवानगन्जका किसान रघुनन्दन मेहताले किसानलाई समयमै मल तथा बीउ उपलब्ध गराउन र खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गर्न माग गर्नुभयो । निर्माण व्यवसायी आशा झाले महिलालाई व्यवसायमा प्रोत्साहन गर्ने नीति बनाउन सरकारलाई सुझाव दिनुभयो ।
कार्यक्रम मुख्यमन्त्रीसँग कान्तिपुर :