काठमाडौं । आन्दोलन तथा भिड नियन्त्रणको जिम्मेवारी नेपाल प्रहरीलाई छ । तर त्यस्ता जोखिमपूर्ण काममा खटिने प्रहरीसँग आवश्यक स्रोतसाधन छैन । भिड नियन्त्रण गर्न बेलाबेला प्रहरीले घातक हतियारको प्रयोग गर्दा प्रदर्शनकारीको ज्यानै जाने गरेको छ । भिड नियन्त्रणका लागि आवश्यक पर्ने गैरघातक हतियार पुराना मात्र भएका छैनन्, सकिँदै पनि गएका छन् । महँगोमा हतियार किनाउन खोज्ने ठेकेदारहरूको प्रभावका कारण प्रहरीले १० वर्षदेखि आफूलाई आवश्यक पर्ने गैरघातक हतियार ल्याउन सकेको छैन ।
२०७९ सालको स्थानीय, प्रदेश र संघीय निर्वाचनमा भिड नियन्त्रण तथा निर्वाचन गराउन चाहिने साना हतियार नपुगेपछि प्रहरीले नेपाली सेनासँग सापटी लिएर काम चलाएको थियो । २०८० पुसमा तत्कालिन भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला आफ्ना अंगरक्षकले गरेको आग्रह अटेर गर्दै आन्दोलन भइरहेको स्थानमा जाँदा प्रहरीले घातक हतियार प्रयोग गर्यो र दुई जनाको ज्यान गयो । गत वर्ष नै सर्लाहीमा भएको विवादमा पनि भिड नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीले एक जनाको मृत्यु भयो ।
निर्वाचन गराउन सेनासँग पेस्तोल सापटी माग्ने होस् अथवा भिड नियन्त्रणमा गैरघातकको सट्टा घातक हतियार प्रयोग हुनुको एउटै कारण हो- प्रहरीले १० वर्षदेखि आफूले खोजिरहेको साधन पाएको छैन । प्रहरीले पछिल्लो समय ७९ सालमा ११ सय ७५ थान भिड नियन्त्रणमा प्रयोग हुने सिल्ड ढाल र १८ सय ६० हेल्मेट खरिद गरेको थियो । त्यस बाहेक पछिल्लो एक दशकमा जम्मा ४० हजार सेल टियर ग्याँस उसले पाएको छ । जबकि प्रहरीका लागि तत्काल तीन लाख सेल रबर बुलेट आवश्यक छ । २०८० पुस ३ गते प्रहरी प्रधान कार्यालयले आफूलाई चाहिने २१ प्रकारका साधन उपलब्ध गराउन माग गर्दै गृह मन्त्रालयमा पत्राचार गरेको थियो । जसमा सवारी साधनदेखि भिड नियन्त्रणमा प्रयोग हुने सामग्रीसम्म छन् ।
हरेक दिनजसो हुने आन्दोलन तथा प्रदर्शनमा सबैभन्दा धेरै प्रयोग हुने टियर ग्यास हो । तर नेपाल प्रहरीले तीन वर्ष यता एक सेल पनि टियर ग्यास खरिद गरेको छैन । भएको टियर ग्यास पनि म्याद सकिएर प्रयोग गर्न नसकिने अवस्थामा पुगेको प्रहरी स्रोत बताउँछ ।
स्रोतका अनुसार भिडमा प्रयोग गर्दा मान्छेको ज्यान नजाने र प्रहरीकै तालिममा प्रयोग गरिने रबर बुलेट खरिद नभएको ८ वर्ष भयो । ७५ सालमा २५ हजार रबर बुलेट किनेको प्रहरीले अहिले तीन लाख मागेको छ । गोलीको जस्तै आवाज आउने तर वास्तविक गोली नहुने ब्ल्यााक राउड १ लाख खरिद गर्नुपर्ने छ । त्यस्तै टियर ग्यास २४ हजार थान, भिड नियन्त्रण गियर ८८ सय थान र प्रहरीको सुरक्षामा प्रयोग हुने शिल्ड ८८ सय माग गरेको एक वर्षभन्दा बढी भयो । प्रहरीले कामचलाउका लागि म्याद सकिएकै सामानको प्रयोग गर्दै आएको छ ।
प्रहरीले सवारी साधन, भिड नियन्त्रणका लागि आवश्यक उपकरण तथा साना हतियारसहित २५ अर्बको सामान चाहिएको जानकारी गृहमा गराएको छ । तर बजेट सुनिश्चित भएको छैन ।
त्यसो त सुरक्षा निकायलाई महँगोमा हतियार र स्रोध साधन खरिद गराउने ठेकेदार समूहले राजनीतिक दबाब दिने गरेका छन् । त्यसले प्रहरी अधिकृतहरू ठेक्कामा जानै समेत डराउने गरेका छन् ।
प्रहरीका लागि सबैभन्दा धेरै भिड नियन्त्रणका साधन र गैरघातक हतियार चाहिएको हो । सुडान घोटला काण्डमा प्रहरीका अधिकृतहरूमाथि मात्रै मुद्दा चलेर राजनीतिक नेतृत्वले उन्मुक्ति पाएपछि टेन्डरमा जानै अधिकृतहरू डराउँदै आएको बताइन्छ । सुरक्षा निकायका लागि हतियार सप्लाइ गर्ने निश्चित व्यक्तिको पकड रहेको र उनीहरूले राजनीतिक प्रभावमा मूल्यभन्दा महँगोमा खरिद गराउने गरेका छन् । सरकारले जुन देशबाट साधन ल्याउने त्यो देशसँग जीटुजी मार्फत् खरिद गर्न सक्ने बाटो प्रयोग नगरेर विचौलिया खोज्ने गरेको छ । यसले पनि आन्दोलन र भिड नियन्त्रणका लागि प्रहरीले आवश्यक सामग्री पाउन नसकेको हो ।