विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिँदै सामुदायिक विद्यालयका शिक्षक फेरि सडक आन्दोलनमा

फाल्गुन २४, २०८१ |अञ्जना लामिछाने
विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिँदै सामुदायिक विद्यालयका शिक्षक फेरि सडक आन्दोलनमा

काठमाडौं । देशभरका सामुदायिक विद्यालयका शिक्षक आफ्ना माग पूरा गराउन सरकारलाई दबाब दिँदै फेरि काठमाडौं केन्द्रित सडक आन्दोलनमा उत्रिएका छन् । शिक्षकहरूले आज काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरे ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरूले विगतमा भएका सहमति कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । माइतीघरमा भेला भएका शिक्षकहरू बानेश्वरसम्म नाराबाजी गर्दै पुगेका थिए । उनीहरूले सरकार र महासंघबीच भएको सहमति अनुसार विद्यालय शिक्षा सम्बन्धी कानुन तत्काल जारी गर्न माग गरेका छन् ।

विगतमा सरकारसँग भएका सबै सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई दबाब दिन प्रदर्शन गर्न बाध्य भएको उनीहरूको भनाइ छ । विद्यालय, विद्यार्थी र शिक्षकमैत्री कानुन बनाउनुपर्ने माग उनीहरूको छ ।

सरकार र महासंघबीच गत वर्ष विद्यालय शिक्षा विधेयकमा मागहरू सम्बोधन गर्ने सहमति भएको थियो । शिक्षकको १०-१० वर्षमा आवधिक बढुवा हुने व्यवस्था गर्ने, माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवा हुनका लागि न्यूनतम ५ वर्ष सेवा कायम गर्ने, शिक्षकको सेवा प्रवेशको अधिकतम अवधि ४० वर्ष कायम गर्ने, योगदानमा आधारित निवृत्तिभरण प्रारम्भ हुने मिति निजामती कर्मचारीलाई भए सरह हुने लगायतका व्यवस्था विद्यालय शिक्षा विधेयकमा समावेश गर्ने सहमति भएको थियो । तर ऐन जारी नभएपछि शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् ।

यसअघि महासंघले चरणबद्ध आन्दोलन घोषणा गरेको थियो । महासंघले आन्दोलनको पहिलो चरणमा पालिका, जिल्ला र प्रदेश तहमा ध्यानाकर्षणपत्र बुझाउँदै विरोध सभा गरेको थियो । काठमाडौंको प्रदर्शनपछि राजनीतिक दलका पार्टी कार्यालयमा दबाबपूर्ण धर्ना दिने महासंघले चेतावनी दिएको छ ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement