मुगु । मनमोहक रारा तालको पश्चिमपट्टि मुर्मा गाउँकी बासु रोकाया आफ्ना साथीसंगीसँग मिलेर मानिस हिँडने बाटोमा पुल बनाउन उचाल्नै नसक्ने सल्लाका ठूल्ठूला मुडा बोक्दै हुनुहुन्थ्यो । भीरको बाटो अति जोखिमयुक्त देखिन्थ्यो । शहरमा सुकिलामुकिलाले राजनीतिक र आर्थिक फेरबदल भएका ठूला भाषण छाँटे पनि उहाँ जस्ता धेरै मुगाली महिलाको मुहारमा परिवर्तनका कुनै संकेत देखिँदैन ।
सल्लाका मुडा बोक्दा बोक्दै थाकेर बिसाउनु भएकी सुन्तली रोकाया मनभित्र पीडाको भारी लुकाएर हाँस्दै हुनुहुन्थ्यो । उहाँ आफू जस्ता धेरै महिला स्वास्थ्य, शिक्षासँगै गाँसबास र आर्थिक अधिकारबाट बञ्चित हुँदै आएको र सामाजिक विभेद समेत सहन बाध्य भएको बताउनुहुन्छ ।
शहरमा महिला अधिकारको नाराका साथ जुलुस र प्रदर्शन भइरहेका बेला दुःखैदुःखको भारीले थिचिँदै आउनु भएकी छायाँनाथ रारा गाउँपालिका-९ की बासमती रोकाया पनि कठोर श्रममा खटिनु भएको छ । सुख रोजेर मात्र पाइँदैन भन्ने उहाँलाई थाहा छ । अहिलेको कठोर श्रमले भोलि कसो सुख नहोला ?
मुगुका अधिकांश महिला यस्तै कठोर श्रम नगरी खान पुग्ने अवस्थामा छैनन् । बिहानदेखि साँझसम्म काम खटिनु पर्ने उनीहरूको बाध्यता छ ।
मुलुकमा धेरै खालका राजनीतिक परिवर्तन भए पनि यी मुगाली महिलाको थाप्लोमाथिको भार अझै हटेको छैन ।