पाल्पा । ४३ औं राष्ट्रिय मगर एकता दिवसका अवसरमा पाल्पाका सबै स्थानीय तहले बिहीबार सार्वजनिक बिदा दिएका छन् । तेस्रो ठूलो जनसंख्याको रूपमा रहेको मगर समुदायले फागुन १५ गते मगर एकता दिवस मनाउने भएकाले पाल्पाका दुई नगरपालिका र आठ गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका हुन् ।
तानसेन र रामपुर नगपालिकाका साथै निस्दी, माथागढी, तिनाउ, बगनासकाली, रैनादेवी छहरा, रम्भा, रिब्दीकोट, पूर्वखोला गाउँपालिका मगर समुदायको बसोवास भएकाले स्थानीय तहभित्र सार्वजनिक बिदा दिइएको हो ।
मगर समुदायले स्थानीय कला संस्कृतिको जर्गेना, मगर खाना, मगर वेशभूषा आदिको प्रदर्शन गरी दिवस मनाउँदै छन् । मगर समुदायमा प्रचलित झ्याउरे, सालैजो, कृष्ण चरित्र ठूलो नाच, ठाडो भाका, यानीमाया लगायतका विभिन्न झाँकीको प्रस्तुत गर्ने कार्यक्रम रहेको नेपाल मगर संघ पाल्पाका अध्यक्ष शान्ति झेडी थापाले बताउनुभयो ।