काठमाडौं । डिजिटल अपराध नियन्त्रण, अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियामा अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले महान्यायाधिवक्ता कार्यालयले डिजिटल अपराध सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । महान्यायाधिवक्ता कार्यालयले 'क्राइम्स अफ द डिजिटल एज-एन्टिसिपेसन एन्ड रेस्पोन्स' विषयमा फागुन १५ र १६ गते काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको हो ।
सम्मेलनमा नेपाल, बेलायत, नेदरल्यान्ड्स, मलेसिया र साउदी अरेबिया लगायत १३ देशका ९० भन्दा बढी सरकारी वकिल, कानुन विज्ञ तथा उच्च अधिकारी सहभागी हुनेछन् ।
सम्मेलनमा डिजिटल प्रविधिको माध्यमबाट गरिने अपराधका विविध आयामका साथै तिनका अनुसन्धान, अभियोजन र न्यायिक निरूपणका विधिहरूबारे छलफल हुनेछन् । यस्तै साइबर कानुन लगायतका विषयमा कार्यपत्र समेत प्रस्तुत हुनेछ ।