काठमाडौं । महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीमा मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा आराधना गरी आज देशभर मनाउन लागिएको हो ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धा भक्तिपूर्वक पूजा आराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा बालेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।
राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किरातेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र महाशिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भाग लगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।
महाशिवरात्रिका अवसरमा पाँच लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गर्ने पशुपति विकास कोषले जनाएको छ । त्यस्तै बाहिरबाट मन्दिर (गजूर) दर्शन पनि ५ लाख हाराहारीले गर्ने अनुमान कोषले गरेको छ । आज राति २ बजेदेखि मन्दिर खुला गरिएको छ । शिवरात्रिका दिन दर्शनार्थीको भीड नसकिउन्जेल मन्दिर खुला रहनेछ र मूल भट्ट सहित ५ जना भट्टहरू मन्दिरमा रहनेछन् । त्यस्तै पशुपति मन्दिरका चार ढोकाका आधारमा चार वटा लाइन बाहिरबाट मन्दिरभित्र पस्ने व्यवस्था गरिएको कोषले जनाएको छ । मन्दिरभित्र ती चार लाइनलाई १० वटा सहायक लाइन बनाइएको छ ।
विगतमा शिवरात्रिमा वितरण गरिने पास दुरुपयोग भएको भन्दै कोषले यसपटक पास खारेज गरेको छ ।