ताप्लेजुङ । केबलकार निर्माणसम्बन्धी विवाद बढ्दै जाँदा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले हिजो देखि लगाएको निषेधाज्ञा यथावत रहेको छ ।
प्रहरी र आन्दोलनकारीबीच पटक/पटक झडप भएपछि जिल्ला प्रशासन कार्यलयले हिजो बिहान ५ बजेदेखि अनिश्चितकालका लागि सदरमुकाम फुङलिङ र काफ्लेपाटी क्षेत्रमा निषेधाज्ञा लगाएको हो ।
निषेधाज्ञा अन्तर्गत सो क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन, सभा जुलुस र घेराउ गर्न रोक लगाइएको छ । सदरमुकाम फुङलिङमा शनिबार बेलुकी प्रहरी र आन्दोलनकारीबीच पटक/पटक झडप भएको थियो ।
आन्दोलनकारीतर्फ घाइते भएका तीन जनालाई धरानको घोपा पुर्याइएको र नौ जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको आन्दोलन समूहका अगुवा कीर्तिमान मादेनले जानकारी दिनुभयो ।
यता प्रहरी तर्फभने नौजना घाइते भएको र उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।