काठमाडौं । भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत विद्यार्थी नेपाल फर्किने क्रम जारी छ । मोरङको रानी नाका हुँदै मंगलबार तीन जना नेपाल आएका थिए भने हिजो फेरि ७५ जना विद्यार्थी नेपाल फर्किएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
यता वीरगन्जको रक्सौल नाका भएर हिजो साँझ सम्म ९३ र थप २० जना हिजो राति पटनासम्म रेलमा र त्यसपछि बस चढेर नेपाल फर्किएको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिनुभयो । उनीहरू बारा, पर्सा र रौतहटको रहेको बताइएको छ ।
यसैगरी झापाको काँकडभिट्टा नाका भएर हिजोसम्म १६ जना विद्यार्थी फर्किएको झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो। नेपालका अन्य सीमावर्ती नाकाबाट के कति संख्यामा नेपाली विद्यार्थी फर्किरहेका छन् भन्ने बारेमा यकिन विवरण लिने काम भइहेको बताइएको छ ।
नाकाबाट प्रशासनले विद्यार्थीलाई घर पठाउन सहजीकरण गरिरहेको छ । केआईआईटी होस्टेलमा रूपन्देहीकी प्रकृति लम्सालको मृत्युपछि उत्पन्न परिस्थिति असहज बनेपछि नेपाली विद्यार्थीहरू पढाइ छाडेर घर फर्किएका हुन् ।