काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको घटनामा सरकार गम्भीर रहेको बताउनुभएको छ ।
ओमानबाट आज नेपाल फर्किनुभएकी मन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको घटना र त्यसपछि उत्पन्न परिस्थितिबाट पीडित नेपाली विद्यार्थीको न्यायका लागि सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले यस्ता संवेदनशील विषयमा सरकारले कूटनीतिक माध्यमबाट प्रस्ट रूपमा समाधान खोज्ने पनि बताउनुभयो ।
उहाँले नेपाली विद्यार्थी र अभिभावकहरूलाई आवश्यक परामर्शका लागि अलग्गै हटलाइनको व्यवस्था गरिएको र घर गएका नेपाली विद्यार्थीहरूलाई छात्रावासमा फर्काएर पठनपाठनको व्यवस्था मिलाइएको जानकारी आफूलाई दिइएको बताउनुभयो ।