सिद्धार्थनगरको स्वर्गद्वारी घाटमा गरियो प्रकृतिको अन्त्येष्टि

फाल्गुन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
सिद्धार्थनगरको स्वर्गद्वारी घाटमा गरियो प्रकृतिको अन्त्येष्टि

भैरहवा । भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत भेटिएकी प्रकृति लम्सालको शवको अन्त्येष्टि गरिएको छ ।

बुधबार राती ९ बजे बेलहिया नाका हुँदै स्वदेश ल्याइएको शवलाई परिवारजन र आफन्तको श्रद्धाञ्जलीपछि अन्त्येष्टि गरिएको हो ।

प्रकृतिको शवमा हजुरबुबा देवनाथ लम्सालले दागबत्ती दिनु भएको थियो । भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय गरेर प्रकृतिको शव भैरहवा ल्याएको थियो । 

२० वर्षिय लम्साल विश्वविद्यालयको होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । घटना शंकास्पद देखिएपछि सोहि विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी न्यायको माग गर्दै प्रदर्शनमा उत्रिएका थिए । 

प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि विश्वविद्यालयले दमन गर्दै निष्काशन गरेको थियो । घटनापछि विश्वविद्यालय क्षेत्रमा तनाव बढेको थियो । सरकारको कूटनीतिक पहल सँगै अवस्था सामान्य हुँदैगएपछि अहिले विद्यार्थीहरू विश्वविद्यालयमा फर्किन थालेका छन् ।  

बुधाबार विद्यार्थीका अभिभावकहरूसँग छलफल गर्दै विश्वविद्यालयले आफ्नो गल्ती स्वीकार गर्दै जस्तोसुकै सजायको भागिदार बन्न तयार रहेको बताएको छ । विश्वविद्यालय प्रशासनले जुम मिट मार्फत नेपाली विद्यार्थीका अभिभावकहरूसँग संवाद गर्दै आफ्नो गल्ती स्वीकारेको हो ।

“हामी पुनः दोहोर्‍याउन चाहन्छौं कि यो गलत भयो । हामीलाई जे सजाय दिनुहुन्छ स्वीकार्छौं”, केआईआईटीका एक प्रतिनिधिले नेपाली अभिभावकसँग जुम मिटमा भन्नुभयो ।

प्रकृतिको मृत्यु प्रकरणलाई लिएर निष्पक्ष अनुसन्धान हुनुपर्ने परिवारले माग गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement