७५औँ प्रजातन्त्र दिवसः यस्तो देखियो टुँडिखेल (फोटोफिचर )

फाल्गुन ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
७५औँ प्रजातन्त्र दिवसः यस्तो देखियो टुँडिखेल (फोटोफिचर )

काठमाडौं । ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवस विशेष समारोहका बीच टुँडिखेलमा मनाइएको छ ।

टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रिपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो ।

विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले फागुन ७ गते, प्रजातन्त्र स्थापनाको हाम्रो संघर्षपूर्ण इतिहासलाई स्मरण गर्दै त्यस संघर्षमार्फत् जनताले चाहेको राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिको आकांक्षा साकार पार्न संकल्प गर्ने दिन भएको बताउनु भयो ।

समारोहमा नेपाल सेनाको हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो भने मैदानबाट शान्तिका दूत परेवा र रंगीच‌गी बेलुन उडाइएको थियो । साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मार्चपासका साथै राष्ट्रिय गानको धुन र ब्याण्ड प्रस्तुत गरेका थिए ।

विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहानियाँ राणा शासन अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।

विसं २००८ पछि मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोह आयोजना गर्न थालिएको हो । यस अवसरमा विभिन्न संघ संस्थाले पनि कार्यक्रम आयोजना गर्दै आएका छन् ।

सरकारले फागुन ६, ७ र ८ गते तीन दिनसम्म विशेषरुपमा दिवस मनाउन आह्वान गरेको छ । तीन दिनसम्म साँझ दीपावली पनि गरिनेछ ।

प्रजातन्त्र दिवसलाई विसं २०४६, २०६३ र २०६५ का परिवर्तनको जगका रुपमा सम्झना गरी विभिन्न कार्यक्रम आयोजना गरिन्छ । प्रजातन्त्र दिवसकै जगमा करिब ७० वर्षपछि संविधानसभाबाट संविधान जारी भएकाले पनि यो दिवसको विशेष महत्व रहेको छ ।

 तस्बिर : प्रदीप राज वन्त


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement