केआईआईटीमा नेपाली छात्राको शंकास्पद मृत्युबारे निष्पक्ष अनुसन्धान गर्न नेपालको माग

निकालिएका सयौं विद्यार्थी रेलवे स्टेसनमा अलपत्र
फाल्गुन ५, २०८१ |किरण पौडेल
केआईआईटीमा नेपाली छात्राको शंकास्पद मृत्युबारे निष्पक्ष अनुसन्धान गर्न नेपालको माग

काठमाडौं । भारत उडिसाको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला परेको विषयलाई लिएर प्रदर्शन भएपछि विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई निस्कासन गर्‍यो । विश्वविद्यालयको छात्रावासबाट आज बिहान जबरजस्ती निकालिएका उनीहरू कतिपय घर फर्कने क्रममा छन् भने अधिकांश उतै अलपत्र अवस्थामा छन् । शिक्षा तथा परराष्ट्र मन्त्रालयले घटनामा गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाली विद्यार्थीको सुरक्षा र दोषीलाई कारबाहीको माग गरेको छ ।

केआईआईटीमा बी टेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्सालको मृत्युको घटनालाई लिएर शिक्षा मन्त्रालयले घटनाप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न समेत भारत सरकारसमक्ष आग्रह गरेको छ । शिक्षा मन्त्रालयका अनुसार उक्त विश्वविद्यालयमा १५ सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन् । मन्त्रालयले नेपाली विद्यार्थीको सुरक्षाको प्रबन्ध मिलाउन समेत आग्रह गरेको छ ।

लम्साल हिजो साँझ छात्रावासमा मृत फेला परेपछि नेपाली विद्यार्थीहरू हिजैदेखि घटनाको निष्पक्ष छानबिन र दोषीलाई तत्काल पक्राउ गर्नुपर्ने माग सहित प्रदर्शनमा उत्रिएका थिए । त्यसपछि रजिस्ट्रार कार्यालयले एक सूचना प्रकाशित गरी नेपाली विद्यार्थीलाई क्याम्पस खाली गर्न भन्यो र सबैलाई अनिश्चितकालसम्मका लागि निलम्बन गर्‍यो । तर, आज सबेरै वार्डेन सहितले सामान समेत प्याक गर्न नदिएर कुटपिट गर्दै निकालेको पीडित विद्यार्थीहरूले बताए । छात्रावासको बसले जबरजस्ती रेल्वे स्टेशनमा ल्याएर छाडेपछि आफूहरू अलपत्र परेको र भोकै पर्नुपरेको उनीहरूको भनाइ छ ।

“सीधै सस्पेन्सन लेटर दिएको छ । होस्टलको बसले रेल्वे स्टेशनमा ल्याएर छाड्यो । हिजोदेखि भोकै छौं”, केआईआईटीमा अध्ययनरत एक विद्यार्थीले बताए ।

आगामी चैत दोस्रो सातादेखि परीक्षा तालिका समेत सार्वजनिक भइसकेको अवस्थामा विश्वविद्यालय प्रशासनले सबै तहका नेपाली विद्यार्थीलाई तत्काल घर जान निर्देशन दिएको उनीहरूले बताए ।

परराष्ट्र मन्त्रालयले पनि घटनाका विषयमा सम्बन्धित विश्वविद्यालयसँग सम्पर्क भइरहेको र समस्या समाधानका लागि नेपाल सरकारका तर्फबाट पहल भइरहेको जनाएको छ ।

अनुसन्धानकै क्रममा रहेको घटनामा मृतक लम्साल मेकानिकल इन्जिनीयरिङका विद्यार्थी अड्विक श्रीवास्तवसँग प्रेम सम्बन्धमा रहेको र सम्बन्ध टुटेपछि मानसिक तनाव दिएको उल्लेख गरिएको सुसाइड नोट र फोन समेत फेला परेको बताइएको छ । ती दुवै चिज प्रहरीले लुकाएको नेपाली विद्यार्थीको आरोप छ ।

लम्सालले आफूमाथि दुर्व्यवहार भएको भन्दै विश्वविद्यालयको अन्तर्राष्ट्रिय विभागमा पटक-पटक उजुरी गरे पनि कुनै सुनुवाइ नभएको विद्यार्थीहरूको भनाइ छ । आरोपित विद्यार्थी श्रीवास्तवलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement