काठमाडौं । अमेरिकामा अवैध बसोवास गरिरहेकाहरूलाई डनल्ड ट्रम्प नेतृत्वको सरकारले फिर्ता पठाउने निर्णय गरेपछि त्यस्ता आप्रवासीलाई अमेरिकाले धमाधम फर्काउन थालेको छ । जसमा नेपालीहरू पनि परेका छन् । यति मात्र होइन, अवैध बाटोबाट प्रवेश गर्नेहरूलाई पनि अमेरिकाले रोक्न थालेपछि अमेरिका पुग्ने सपना लिएर नेपालबाट हिँडेकाहरूको जीवन नै जोखिममा पर्न सक्ने आशंका बढेको छ । तर नेपाल सरकार र प्रशासनलाई थाहा छैन, यसरी कठिन र दुरुह बाटोबाट कति नेपाली अमेरिका हिँडेका छन् ?
आइतबार साँझ मानव बेचविखन अनुसन्धान ब्युरोले अमेरिकाबाट फर्किएका दुई नेपालीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कार्यालय लिएर आयो । अवैध बाटोबाट अमेरिका पुगेका एक पुरुष र एक महिला अमेरिकाबाट डिपोर्ट भएपछि नेपाल आइपुगे पनि थप केरकारमा परेका हुन् । कठिन रूट र मृत्युको मुखमा राखेर नेपालीहरूलाई अमेरिका पठाउने भन्दै ठग्ने संगठित गिरोहसम्म पुग्न फिर्ता गरिएकाहरूमाथि सोधपुछ गरेको हो ।
माघ महिनामा मात्रै अमेरिकाले अवैध रूटबाट गएका २५ नेपालीलाई फर्काइसकेको छ । अदालतको आदेशअनुसार डिपोर्ट गरिएको जानकारी इमेलमार्फत विमानस्थलस्थित अध्यागमन कार्यालयमा आइपुग्छन् र डिपोर्ट भएकाहरूलाई नियमित जहाजबाटै नेपाल ल्याउने गरिएको छ । तर त्यसरी नेपालीलाई पठाउने मानव तस्करको संगठित गिरोहमाथि अनुसन्धान गर्नुपर्ने भएकाले फिर्ता गरिएकाहरूमाथि सोधपुछ गरिएको हो । कतिपयले आफुलाई फसाउनेमाथि उजुरी दिए पनि अधिकांशले पठाउने गिरोहलाई नचिनेको बयान दिने गरेका छन् ।
अमेरिकामा ट्रम्प सरकारले अवैध आप्रवासीलाई नियन्त्रण गर्ने नीति लिएपछि त्यहाँ रहेका नेपालीलाई फर्काइएको मात्रै छैन, मानव तस्करकै चंगुलमा परेर हिँडेका कति नेपाली बाटोमै छन् भन्ने यकिन छैन । तस्करले अमेरिका पुग्न खोज्नेहरूलाई १३ देशको कठिन रूट पार गराउने गरेका छन् । नेपालबाट भारत अथवा दुबईसम्म लैजाने र त्यहाँबाट एजेन्ट मार्फत रूस, स्पेन, बोलिभिया, पेरु, इक्वेडर र कोलम्बिया हुँदै पानामा पुर्याउने गरेका छन् ।
पानामा त्यही देश हो, जहाँ कैयौं दिन जंगलमा हिँडाएर लैजाने गरिएको छ । अहिले अमेरिकाबाट निकालिएका कतिपयलाई पानामा लगेर छोडिएको छ । यिनै रूटबाट अमेरिका हिँडेकाहरूलाई अमेरिका छिर्न मेक्सिको पुग्ने गरेका हुन् । तर जुन देशको रूट हुँदै आएको हो, अमेरिकाले त्यही देशमा लगेर छोडने र मानव तस्करले पनि जिम्मा नलिएपछि कति नेपाली बाटोमा अलपत्र परेका छन् भन्ने अर्को जोखिम बनेको प्रहरीको भनाइ छ ।
तस्करहरूले प्रयोग गर्ने रूटका अधिकांश देशले सुरक्षा व्यवस्था कडा बनाएपछि अहिले बाटैमा भएका नेपालीहरूको जीवन रक्षा कठिन हुन सक्ने देखिएको हो । ब्युरोका अनुसार अजरबैजानबाट उद्धारका लागि अनुरोधसहित केही सूचना प्राप्त भएको छ । ती बाहेक अन्य देशमा पुगेकाहरूलाई पनि तस्करले छोड्न सक्ने र सम्बन्धित देशले पनि कारबाही गर्न सक्ने भएकाले नेपालबाट पठाउने एजेन्ट विरुद्ध उजुरी गर्न प्रहरीको अपिल छ ।
नेपाली नागरिकको सुरक्षाका लागि तेस्रो देश पठाएर जोखिम लिनुभन्दा कूटनीतिक माध्यमबाट स्वेदश फिर्ताकै लागि पहल गर्न विज्ञहरूको बुझाइ छ । अहिले स्वेदश फिर्ता भएकाहरूले पनि आफूलाई पठाउने गिरोह विरुद्ध जाहेरी दिए मानव तस्करको गिरोहसम्म पुग्न प्रहरीलाई सहज हुने देखिन्छ ।