काठमाडौं । रेमिट्यान्सको वृद्धिदर कम हुन थालेपछि सरकार आगामी दिनमा ब्याज महँगो हुने आकलन गरिरहेको छ । यही कारण चौथो त्रैमासमा उठाउने भनेको आन्तरिक ऋण तेस्रो त्रैमासमै उठाएको हो ।
चौथो त्रैमास अर्थात् वैशाखदेखि उठाउन सुरू गर्ने भनेको ऋण अहिले नै २० अर्ब उठाइसकिएको छ भने फागुनमा थप २० अर्ब उठाउन लागिएको छ ।
गत आर्थिक वर्षको पुससम्म २२.२ प्रतिशतले वृद्धि भएको रेमिट्यान्स यस वर्ष सोही अवधिमा जम्मा ४.१ प्रतिशतले मात्र वृद्धि भएको छ । चालु आर्थिक वर्षको पुसम्म ७ खर्ब ६३ अर्ब ८ करोड रेमिट्यान्स आएको छ । रेमिट्यान्सको वृद्धिदरमा कमी आाएपछि सरकारले आगामी दिनमा ब्याज बढ्न सक्ने आकलनका साथ अहिले भटाभट आन्तरिक ऋण उठाइरहेको छ ।
चालु आर्थिक वर्षमा ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने भनिएकोमा अहिलेसम्म २ खर्ब २९ अर्ब उठाइसकेको छ, जुन लक्ष्यको झन्डै ७० प्रतिशत हो । वैशाखदेखि अर्थात् चौथो त्रैमासबाट उठाउने भनेको ४० अर्ब बराबरको विकास ऋणपत्र माघमा २० अर्ब उठाइसकेको छ भने २० अर्ब फागुनमा उठाउन थालिसकेको छ ।
अहिलेसम्म २ खर्ब २९ अर्ब उठाएकामा १ खर्ब २७ त पुरानै ऋणको सावा तथा ब्याज भुक्तानीमा प्रयोग भएको छ । अर्थात् उठेको ऋणको ५५ प्रतिशत ब्याज र सावा तिर्न खर्च भएको छ । सरकारले अहिलेसम्म आन्तरिक तथा बाह्यको ऋण तथा ब्याजमा १ खर्ब ६३ अर्ब खर्च गरिसकेको छ ।
सरकारले ऋण लिएर उठाएको यस्तो रकम विकास निर्माणमा खर्च हुनुपर्ने हो । र, यसरी गरिएको लगानीले प्रतिफल दिने भए मात्रै ऋण लिनुको औचित्य रहन्छ । तर, पछिल्लो समय सरकारले लिएका ऋण साँवा र ब्याज तिर्न मात्रै होइन अनुत्पादक क्षेत्रमा समेत खर्च हुने गरेको छ ।
आन्तरिक ऋण सहज तरिकाले उठाउने गरेको सरकारले बाह्य ऋण भने खासै बढाउन सकेको छैन । विकास निर्माणका काममा मात्रै खर्च गर्नुपर्ने बाध्यता र काम सकेपछि मात्रै पाइने हुँदा बाह्य ऋण आन्तरिक ऋणको तुलनामा कम उठ्ने गरेको देखिन्छ ।