बाघको आहार र वासस्थानको अध्ययन गरिँदै

फाल्गुन २, २०८१ |जे पाण्डे
बाघको आहार र वासस्थानको अध्ययन गरिँदै

बाँके । बाँके राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले दुर्लभ बाघको आहार बिहार र अवस्था अध्ययन गर्न थालेका छन् । निकुञ्जसँगै, सरकारी र सामुदायिक वन क्षेत्रमा बाघ कस्तो अवस्थामा छन् र कति संख्यामा छन् ? त्यसको अध्ययनका लागि बाघ हिँडने मार्गहरूमा क्यामेरा जडान गरिएको छ ।

नेपाल-भारत सीमासँग जोडिएको कम्दी जैविक मार्गमा जडान गरिएका क्यामेराले लिएको तस्बिरलाई विश्लेषण गरी बाघको आहारासँगै वासस्थानको थप व्यवस्थापन गरिने भएको छ । त्यसो त यसबाट कति र कस्ता बाघ नेपाल भारत सीमा वारपार गर्छन् पत्ता लाग्ने बताइएको छ ।

जंगलमा विचरण गर्नुपर्ने बाघ र चितुवा मानवबस्ती नजिकका क्षेत्रमा जान थालेपछि निकुञ्जसँगै वन डिभिजन कार्यालयका अधिकारीले कतै बाघका लागि चाहिने आहारा प्रजातिको कमी त भएको छैन ? त्यसको अध्ययन गर्न क्यामेरा जडान गरी अनुगमन समेत गर्न थालेको हो । बाघ सर्वेक्षण गर्न निकुञ्जभित्रको जंगलमा मात्र १५१ स्थानमा क्यामेरा जडान गरिएको छ ।

पछिल्ला ६ महिनायता निकुञ्ज र सरकारी वन क्षेत्रमा आपसमा लडेर २ वटा बाघको मृत्यु भयो । यसलाई बाघको संख्यामा वृद्धि तर वासस्थान क्षेत्र साँघुरिँदै गएको संकेत भनिएको छ । बाघले जंगलको निश्चित क्षेत्रलाई आफ्नो गढ बनाएर बस्ने र त्यहाँ अर्को बाघ प्रवेश गर्दा टकराव हुने संरक्षणकर्मी बताउँछन् । यो लडाइँ वासस्थान साँघुरो र आहाराको कमीको कारण हुने बताइन्छ । जडित क्यामेराले त्यो अवस्थाको समेत तस्बिर लिने हुँदा अध्ययनमा सघाउ पुग्ने अनुमान गरिएको छ ।

निकुञ्ज बाहेक बाघको वासस्थान, विचरण तथा आवतजावतको लागि महत्त्वपूर्ण काम्दी जैविक मार्गमा पनि बाघ तथा आहारा प्रजातिको अध्ययन अनुगमन भैरहेको छ । डिभिजन वन कार्यालयको क्षेत्राधिकारभित्र पर्ने निकुञ्ज, पूर्वमा दाङ र दक्षिणमा भारतको सोहेलवासम्मको वन्यजन्तु आरक्षण केन्द्रमा जियोलोजिकल सोसाइटी अफ लन्डन, नेपालको आर्थिक र प्राविधिक सहयोगमा बाघ तथा आहारा प्रजातिको अध्ययन थालेको डिभिजन वन कार्यालयले जनाएको हो ।

त्यहाँ स्वचालित क्यामेरा जडान गरिएका हुन् । अध्ययनका लागि वन क्षेत्रफललाई ४ ब्लकमा विभाजन गरिएको छ ।

यस्ता क्यामेराले लिएका तस्बिरबाट वनमा गरिने कार्य तथा वन्यजन्तुबाट हुने जाखिमको न्यूनीकरणमा समेत सघाउ पुग्ने अपेक्षा गरिएको छ । तस्बिरहरुलाई फोटो विश्लेषण सफ्टवेयरको प्रयोग गरेर नतिजाको मूल्यांकन गर्ने र त्यसैका आधारमा आगामी दिनमा गर्नुपर्ने संरक्षण तथा व्यवस्थापन कार्य गरिने भएको छ । तर यस्तो कार्य निकै जोखिमयुक्त देखिएको छ ।

अघिल्लो गणना अनुसार बाँकेमा बाघको संख्या २५ र आहारा प्रजातिको घनत्व प्रतिवर्ग किलोमिटर ३३ वटा छ । अहिले भइरहेको अध्ययनले कस्तो अवस्था देखाउँछ ? त्यो भने हेर्न बाँकी नै छ ।


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement