काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल र बाबुराम भट्टराई विरुद्ध परेको मुद्दाको सुनुवाइ अब पूर्ण इजलासमा हुने भएको छ । आज सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले मुद्दाको सुनुवाइ पूर्ण इजलासमा पेश गर्न आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराई विरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । न्यौपानेले २९ माघ २०७६ मा सर्वोच्च अदालतमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराई विरुद्ध रिट दायर गर्नुभएको हो ।
निवेदकले नेपाल र भट्टराईलाई ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा संलग्न रहेको दाबी सहित भ्रष्टाचार मुद्दा चलाउन आदेश माग गर्नुभएको छ । निवेदनहरूलाई पूर्ण इजलासमा पठाउने आदेश भए पनि के आधारमा पूर्ण इजलासमा पठाएको हो भन्ने व्यहोरा आदेश सार्वजनिक भएपछि मात्रै थाहा हुने सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिनुभयो ।