न्यायाधिवक्ता लुइँटेलमाथि छानबिन गर्न गठित समितिले सोमबारसम्म प्रतिवेदन बुझाउने

माघ २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
न्यायाधिवक्ता लुइँटेलमाथि छानबिन गर्न गठित समितिले सोमबारसम्म प्रतिवेदन बुझाउने

काठमाडौं । साहारा चितवन सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि संगठित अपराधको मुद्दा नचलाएको विषयमा चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि छानबिन गर्न गठित समितिले सोमबारसम्म प्रतिवेदन बुझाउने भएको छ ।

प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण अन्तर्गत मुद्दा चलाउन राय दिएको थियो । तर चितवन सरकारी वकिलको कार्यालयले लामिछानेमाथि संगठ‍ित अपराधको मुद्दा लगाएको थिएन । प्रहरीको राय उल्टाएको आरोपमा जिल्ला न्यायधिवक्ता शान्तिप्रसाद लुइँटेललाई महान्यायधिवक्ता कार्यालयमा तानेर अनुसन्धान भइरहेको छ ।

सरकारी वकिलले एक पटक मुद्दा दर्ता गरेपछि मुद्दा फिर्ता लिन पनि नमिल्ने र फेरेर अर्को लैजान पनि नमिल्ने भएकाले उक्त मुद्दाको अभियोजनमा कैफियत भएको आशंकामा छानबिन समिति गठन गरिएको महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायधिवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिनुभयो । 

सहन्यायाधिवक्ता गोपालप्रसाद रिजालको अध्यक्षतामा सहन्यायधिवक्ता सूर्यराज दाहाल, सहन्यायधिवक्ता ईश्वरीप्रसाद ढकाल र उपन्यायधिवक्ता रुद्र आचार्य सदस्य रहेको छानबिन समितिले अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ । सरकारी वकील सम्बन्धी नियमावली २०७७ बमोजिम छानबिन गठित समितिले सोमबारसम्ममा प्रतिवेदन बुझाउने जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement