काठमाडौं । अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पद सम्हालेलगत्तै सबै किसिमका वैदेशिक अनुदान ९० दिनसम्म निलम्बन गर्ने कार्यकारी आदेश जारी गर्नु भयो । त्यो कार्यकारी आदेश सँगै अमेरिकी सहयोग नियोग यूएसएआईडी लगायत विकास साझेदारहरूका कार्यक्रम निलम्बनमा मात्र परेका छैनन्, विश्वभरका आफ्ना कर्मचारीलाई समेत विदा दिएको छ । यसबाट यूएसएआईडी मार्फत संचालित २१ बढी ठूला परियोजना सहित सयौं आयोजनालाई असर गरेको छ ।
अमेरिकी सहयोग नियोग यूएसएआईडीले विश्वभर कार्यरत आफ्ना कर्मचारीलाई शुक्रबार रातिदेखि प्रशासनिक बिदा दिएको छ। यूएसएआईडीले आफूले नियुक्त गरेका अमेरिकी नागरिकलाई स्वदेश फर्किन निर्देशन जारी गरेको हो। यसको अर्थ अब यूएसएआईडी कार्यालयहरू ९० दिनका लागि बन्द हुनेछन् । यसको मारमा विश्वभर यूएसएआईडीबाट सहयोग लिनेहरूलाई पर्ने छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ प्रतिवद्धता अनुसार भएको यो निर्णयले १ सय ७६ देशहरूलाई त प्रत्यक्ष प्रभावित पार्ने छ नै, नेपालजस्ता विकासशिल राष्ट्र झनै प्रभावित हुनेछन् ।
‘एनजीओ आईएनजीओले संचालन गरेको कार्यक्रमलाई असर गर्छ । नेपालमै काम गरेका कर्मचारीहरूपनि काम बिहिन हुने छन्,’ गैरसरकारी संस्था महासंघका महासचिव अर्जुन भट्टराईले भन्नुभयो ।
अर्थ मन्त्रालयका अनुसार यूएसएआईडीले नेपाल सरकारसँग सन् २०२२ देखि २०२७ सम्मका लागि ६५ करोड ९० लाख अमेरिकी डलर अनुदानको ५ वर्षे रणनीतिक साझेदारीसम्बन्धी सहमति गरेको छ । यूएसएआईडीले नेपालमा बजेटरी र गैरबजेटरी दुवै किसिमले सहयोग परिचालन गर्ने गरेको छ । जसमध्ये ७ करोड १७ लाख अमेरिकी डलर अर्थात् करिब १० बजेटरी प्रणालीमार्फत् परिचालन हुँदै आएको छ । बाँकी ५८ करोड ७३ लाख अमेरिकी डलर बजेटमा समावेश नगरी अर्थात् अफ बजेट अफ ट्रेजरी खर्च हुन्छ । अमेरिकी सहयोगमा बजेटमा समावेश गरि कृषि, स्वास्थ्य, शिक्षा र समावेशी नीति सुधारसम्बन्धी कार्यक्रमहरु संचालन हुँदै आएका छन् । अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार विनियोजित अनुदानमध्ये ५२ प्रतिशत खर्च हुन बाँकी छ । गैरबजेटरी रकम यूएसएआईडीले विभिन्न संघसंस्थामार्फत खर्च गर्छ । तर, त्यसको यकिन विवरण अर्थ मन्त्रालयसँग छैन ।
हाल नेपालमा यूएसएआईडी समर्थित २१ वटा ठूला परियोजनाहरू चलिरहेका छन् । १९६१ नोभेम्बर ३ मा स्थापना गरिएको यूएसएआईडी १ सय ७६ भन्दा बढी देशमा काम गर्दै आएको छ । अनुदान रकमका आधारमा नेपाल १६औं स्थानमा छ ।
वैदेशीक अर्थ राजनीतिक विज्ञ नरेन्द्र खतिबडा भन्नुहुन्छ- वैदेशीक सहयोगको मात्रै भर पर्नु हुँदैन भन्ने शिक्षा पाएका छौं ।
यूएसएआईडीले सहयोगको हात झिकेसँगै ३ सयभन्दा बढी गैरसरकारी संस्था तथा २० भन्दा बढी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र उनीहरूले नेपालमा संचालन गरिरहेका कार्यक्रमहरूमा प्रत्यक्ष असर पर्नेछ । त्यो सँगै नेपालको बजेटमा पनि असर पर्ने छ ।