ललितपुर महानगरमा २२ प्रकारका विपद् र अत्यावश्यक सेवा एकै ठाउँबाट लिन सकिने

दमकल, एम्बुलेन्स, शव वाहन लगायतका सेवा २४ सै घण्टा निःशुल्क
माघ २३, २०८१ |नारायण किलम्बू
ललितपुर महानगरमा २२ प्रकारका विपद् र अत्यावश्यक सेवा एकै ठाउँबाट लिन सकिने

काठमाडौं । स्थानीय सरकारले विपद्‌मा प्रभावकारी काम गर्न नसकेको गुनासो आइरहेका बेला ललितपुर महानगरपालिकाले २२ प्रकारका सेवा एकै ठाउँबाट नि:शुल्क उपलब्ध गराउन थालेको छ । सेवा प्रवाह छिटो छरितो बनाउन महानगरपालिकाले दमकल, एम्बुलेन्स, शव वाहन, ढल निकासदेखि नगर प्रहरीको सेवा २४ सै घण्टा उपलब्ध हुने व्यवस्था गरेको हो । यस्तो सेवाले विशेषगरी विपद्का बेला ठूलो सहयोग पुग्ने अपेक्षा महानगरको छ ।

पुल्चोकस्थित जुद्ध वारुण कार्यालयलाई केन्द्रमा राखेर ललितपुर महानगरले विपद् र अत्यावश्यक सेवा एउटै ठाउँबाट लिन सकिने व्यवस्था गरेको हो । नगरक्षेत्रमा दमकल, एम्बुलेन्स र शव वाहन चाहिए वा फोहोरमैला, ढल निकास, सम्पदा संरक्षण, विपद् व्यवस्थापन लगायतका समस्या भए महानगरले २४ सै घण्टा नि:शुल्क सेवा दिने भएको हो । 

त्यसका लागि महानगरपालिकाले एलएमसी अलर्ट मोबाइल एप र ११३१ नम्बरको हटलाइन सञ्चालन गरेको छ । सेवा चाहिएमा मोबाइल एप वा हटलाइनमा सम्पर्क गरी लिन सकिने महानगरपालिकाले जनाएको छ ।

बढ्दो जनघनत्व र सवारी चापका कारण सेवा सहज हुन नसकेको गुनासो आएपछि त्यसलाई सम्बोधन गर्न महानगरले प्रयास थालेको हो । अहिले दैनिक १ सयभन्दा बढीले नि:शुल्क सेवा लिँदै आएका छन् ।

२९ वडामा विभाजित ललितपुर महानगरमा ४ लाखभन्दा बढीको बसोवास छ । महानगरले अत्यावश्यक र विपद् सम्बन्धी सेवा एउटै ठाउँबाट दिन थालेपछि स्थानीय समेत उत्साहित भएका छन् ।

अत्यावश्यक सेवाका लागि खबर प्राप्त भएको ५ मिनेटभित्रै सबै टोली तयार भई परिचालन गरिँदै आएको दाबी महानगरको छ । अब अन्य ४ ठाउँमा उपकेन्द्र खोलेर सेवाप्रवाहलाई अझै छिटो बनाउने योजना महानगरको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।