साहारा सहकारी ठगी प्रकरणः लामिछानेसहित १५ जनाविरुद्ध चितवन जिल्ला अदालतमा पुरक मुद्दा दायर

माघ २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
साहारा सहकारी ठगी प्रकरणः लामिछानेसहित १५ जनाविरुद्ध चितवन जिल्ला अदालतमा पुरक मुद्दा दायर

चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगी प्रकरणमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवन जिल्ला अदालतमा पुरक मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले आज दिउँसो लामिछानेविरुद्ध सहकारी ठगी अपराध कसुरमा चितवन अदालतमा मुद्दा दायर गरेको चितवन जिल्ला अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले रवि लामिछानेसहित १५ जनाविरुद्ध १ सय ८४ पृष्ठको अभियोग पत्र दर्ता भएको बताउनुभयो । उहाँले यस मुद्दामा लामिछाने बाहेक १२ जनालाई भने ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता भएको जानकारी दिनुभयो । दायर अभियोग पत्रमा लामिछानेले सहकारी संस्थाबाट तलब बाहेक पनि अन्य रकम लिएको देखिएको उल्लेख छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको १० करोड ८० लाख १८ हजार रुपैयाँ गोरखा मिडिया नेटवर्कमा गएपछि रवि चितवनको सहकारी रकम अपचलन मुद्दामा जोडिनुभएको हो ।

यसअघि रविले सरकारी वकिल कार्यालयको रोहबरमा दुई दिन लगाएर बयान दिनुभएको थियो । अदालतमा मुद्दा दायर भएसँगै रवि चितवन अदालतमा उपस्थित भएपछि अदालतमा बयान सुरु हुने अदालतका श्रेस्तेदार आचार्यले जानकारी दिनुभयो । करिब ३ महिना कास्की हिरासतमा बसेका रविलाई पोखरा, काठमाडौं र बुटवल जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिइसकेको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी सस्थाका पीडित बचतकर्ता २०८० असोज ९ मा चितवन प्रहरीमा उजुरी दिएपछि अनुसन्धान अघि बढेको थियो ।

यसअघि यहीँ सहकारीको बचतकर्ताको उजुरीको आधारमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिवि राइसहित १७ जनाविरुद्ध गत असोज ८ गते ठगी मुद्दा दायर भएको थियो । प्रतिवादीहरू फरार रहेकाले उक्त मुद्दा अघि बढेको छैन । यस मुद्दा ३२ जना साहारा सहकारीको ५२ करोड रुपैयाँ अपचलन भएकोमा ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ दावीगर्दै बचतकर्ताले उजरी दिएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.