ताप्लेजुङ । गृह मन्त्रालयले गठन गरेको वार्ता समितिसँग छलफलका लागि ‘नो केबलकार समूह’ ले चार सदस्यीय वार्ता सहजीकरण समिति गठन गरेको छ ।
अमर तुम्याहाङको संयोजकत्वमा राम मादेन, शंकर लिम्बू र सरु सिंघक सदस्य रहेको समिति गठन गरेको हो । योसँगै गत माघ १२ गतेदेखि सुरू भएको तनाव व्यवस्थापनका लागि वार्ता प्रक्रिया सुरू भएको छ । सहसचिव स्तरको समितिले निकास दिन नसक्ने बताएका केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बू लिम्बूले यो समितिवाट वार्ताका लागि समन्वयको वातावरण बन्ने बताउनुभयो ।
ताप्लेजुङको पाथीभरा क्षेत्रमा देखिएको विवाद समाधानका लागि गृह मन्त्रालयले सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शहरी विकास मन्त्रालयका प्रतिनिधि पनि रहने उल्लेख छ ।