
म्याग्दी । म्याग्दी सदरमुकामस्थित कुमारी बहुउद्देश्यीय सहकारीको रकम अनियमितताको आरोपमा जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापा सहित ५ जना पक्राउ परेका छन् । गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय पोखराको अपचलन भएको बिगो रकम उल्लेख नगरिएको पत्र जाहेरीले जिल्ला समन्वय समिति प्रमुख थापा, सहकारीका पूर्वअध्यक्षहरु मनप्रसाद थजाली, थमबहादुर गर्वुजा, पूर्वकोषाध्यक्ष देवी थापा मगर र पूर्वव्यवस्थापक रुद्रबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
थापालाई प्रहरीले निवासबाट नियन्त्रणमा लिएको हो । सहकारी रकम अपचलनका अन्य ४ जना आरोपीहरू भने अनुसन्धानलाई सहयोग गर्न आफैं प्रहरी कार्यालय उपस्थित भए हुन् ।
प्रहरी नियन्त्रणमा रहेका जिसस प्रमुख थापाले आफूहरूले सहकारीको रकम व्यक्तिगतरूपमा झिकेर अपचलन नगरेको, सहकारीबाट ऋण लिएर उपयोग गरेको तर विद्यालयले सावाँब्याज तिर्न नसकेको दाबी गर्नुभएको छ ।
सहकारी रजिस्ट्रारको कार्यालय पोखराले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आइतबार दर्ता गरेको मूल जाहेरी पत्रमा आरोपीहरूले के कति रकम अपचलन गरेका हुन् उल्लेख नगरी निवेदनसाथ एक पोका फाइलहरू पेश गरेको जिल्ला प्रहरी प्रमुख भरत श्रेष्ठले बताउनुभएको छ ।
एक वर्षअघि भएको साधारण सभाबाट सहकारी अध्यक्षमा निर्वाचित नेकपा (माओवादी केन्द्र)का जिल्ला सदस्य एवं मंगला गाउँपालिका, ४ नं वडाध्यक्ष यामबहादुर रोका समेत नवनिर्वाचित सहकारी सञ्चालक समितिले वित्तीय विश्लेषक नियुक्त गरी सहकारीको आर्थिक अवस्था अध्ययन गरेको थियो ।