रोकिएन म्यानपावर कम्पनीको ठगीधन्दा : ६ महिनामा ३४ सय उजुरी, नियमन र कारबाही खै ?

माघ १८, २०८१ |सुमन पन्थ
रोकिएन म्यानपावर कम्पनीको ठगीधन्दा : ६ महिनामा ३४ सय उजुरी, नियमन र कारबाही खै ?

काठमाडौं । म्यानपावर र ह्यूमन रिसोर्सको दोहोरो अर्थ लाग्ने साइनबोर्ड राखेर सञ्चालकहरूले श्रमिकलाई ठग्ने प्रवृत्ति अहिले मौलाएको छ । पछिल्ला ६ महिनामा वैदेशिक रोजगार विभागमा ३४ सय ४ वटा यस्ता ठगीका उजुरी दर्ता भएका छन् । म्यानपावर कम्पनीहरूले पनि व्यक्तिगत भिषामा विदेश पठाइदिने भन्दै श्रमिकसँग पैसा उठाउने र भाग्ने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागको कारवाही छल्नका लागि म्यानपावर कम्पनीहरूले व्यक्तिगत तवरमा पैसा उठाएर बेरोजगार युवालाई अलपत्र पार्ने गरेका हुन् । 

ललितपुर सातदोबाटोमा रहेको इलाइट टु वर्क हृयुमन रिसोर्स कम्पनीले युरोप पठाइ दिने भन्दै युवा १ सयभन्दा धेरै युवासँग १ लाखदेखि ३ लाख रुपैयाासम्म उठाएको थियो । तर पैसा उठाएपछि सञ्चालक कार्यालयको स्वामित्व अर्कोलाई बिक्री गरेर फरार भए । अहिले पैसा बुझाएका युवाहरू न्यायको खोजी गर्दै दिनदिनै वैदेशिक रोजगार विभागमा धाइरहेका छन् ।

काठमाडौंको सुकेधारामा रहेको काठमाडौं ब्राइट हृयुमन रिसोर्स प्रालिले पनि २ सय युवाबाट जनही ३ लाख रुपैयाँ उठायो । अहिले सञ्चालक गजेन्द्रबहादुर तामाङ तीन वर्षदेखि सम्पर्कविहीन छन् । युवा डुबेको पैसा उठाउन वैदेशिक रोजगार विभाग धाउन हैरान छन् ।

म्यानपावर र ह्यूमन रिसोर्सको दोहोरो अर्थ लाग्ने साइनबोर्ड राखेर सञ्चालकहरुले श्रमिकलाई ठग्ने प्रवृत्ति मौलाएको वैदेशिक रोजगार विभागले जनाएको छ । पछिल्ला ६ महिनामा वैदेशिक रोजगार विभागमा ३४ सय ४ वटा ठगीका उजुरी दर्ता भएका छन् । गत वर्ष सोही अवधिमा २६ सय २९ उजुरी परेका थिए । विभागले यो अवधिका २४ करोड क्षतिपूर्ति दिलाएको बताएको छ । तर म्यानपावर कम्पनीको आवरणमा ठगीको धन्दा गर्नेलाई कानुनी कारवाहीमा ल्याउन सकेको छैन ।

म्यानपावर कम्पनीबाट गएका श्रमिक पीडित भएको खण्ड विभागले म्यानपावर कम्पनीलाई जरिवाना गर्ने र श्रमिकलाई क्षतिपूर्ति भराउँछ । तर व्यक्तिगत तवरबाट गएका र जान खोज्नेहरू ठगिए प्रहरीलाई पन्छाइने गरेको छ । पीडित श्रमिक कहिले विभाग त कहिले प्रहरी कार्यालय धाउँदै हैरान हुने गरेका छन् ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।