काठमाडौं । विश्वभर अहिले कृत्रिम बौद्धिकता अर्थात् एआइको विकास तीब्र रुपमा भइरहेको छ । स्वास्थ्य क्षेत्रमा नयाँ-नयाँ अनुसन्धान भइरहेका छन् । हाम्रै छिमेकी मुलुकहरु भारत र चीनले अन्तरिक्ष अनुसन्धानमा फड्को मारेका छन् । तर, नेपालमा भने वैज्ञानिक तथा अनुसन्धानकर्ताहरु अवसर नपाएर विदेशिइरहेका छन् । केही गर्छु भनेर स्वदेशमा रहेकाहरुले समेत अवसर पाइरहेका छैनन् ।
राजकुमार थापा अहिले गण्डकी विश्वविद्यालयमा अनुसन्धान केन्द्रका निर्देशक हुनुहुन्छ । दक्षिण कोरियाबाट फार्मेसीमा विद्यावारिधी गर्नुभएका उहाँले अनुसन्धानकर्ता भएर अमेरिकाको डेलावेयरमा दुई वर्ष काम गर्नुभयो । त्यसपछि युनिभर्ससिटी अफ ओस्लो नर्वेमा अनुसन्धान वैज्ञानिकका रुपमा कार्यरत हुनुभयो । उहाँले क्यान्सर बिरामीले प्रयोग गर्ने औषधि कोषसम्म पुर्याउन सहयोग गर्ने एजेन्टबारे अनुसन्धान गर्नुभएको छ भने लामो समयसम्म निको नहुने घाउ छिटो निको कसरी पार्न सकिन्छ भन्ने बारे जिन डेलिभरीमा काम गर्नुभएको अनुभव छ । साढे ३ वर्षअघि स्वदेश र्फकनुभएका उहाँले अहिले महसुस गरिरहनु भएको छ-नेपालमै बसेर केही गरौं भने पनि प्रेरणाको अभाव रहेछ ।
‘इनसरेजमेन्ट एकदमै चाहिने छ अहिले चै किनभने तपाईंले हेर्नुभयो भने धेरैजसो मान्छेहरु बाहिर जाने प्रोसेस बढिरहेको छ नि त । अनि मलाई कतिपयले सोध्नुहुन्छ क्या तपाईं बाहिर गएको मान्छे किन आउनु भयो भन्ने कुरा । त्यो सबैको आफ्नो धारण हुन्छ, अब मैले जानेको कुरा कन्ट्रिवियुट गरौ भनेर म आए । तर म यहाँ आइराख्दा खेरी मलाई चै स्जीटेबल इन्बारोमेन्ट त चाहियो नी त मलाई पनि काम गर्नका लागी,’ गण्डकी विश्वविद्यालय अनुसन्धान केन्द्रका अनुसन्धान निर्देशक राजकुमार थापाले भन्नुभयो ।
भक्तपुरका सुनील श्रेष्ठले क्यान्सर बिरामीको दुखाइ कसरी कम गर्ने र औषधिको नकारात्मक प्रभाव कम गर्ने बारेमा विद्यावारधि गरेर अष्ट्रेलियाबाट ७ महिनाअघि नेपाल फर्कनुभयो । आफ्ना ज्ञान नेपालका लागि काम लाग्छ भनेर उहाँ र्फकनु भएको थियो । तर, सरकारको सहयोग नपाएको उहाँ बताउनु हुन्छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान-नास्टका अनुसार अहिले नेपालमा २ लाख वैज्ञानिक छन् । यो तथ्यांक हेर्दा नेपालमा विज्ञान तथा प्रविधिको क्षेत्रमा ठूलै विकास भइसकेको हुनुपर्ने हो । तर यीमध्ये ५० प्रतिशतभन्दा बढी त विदेशिइसकेका छन् । धेरै विश्वविद्यालय, गैरसरकारी तथा प्रशासनिक काममा व्यस्त छन् । निकै कमले मात्र आविस्कारका लागि अवसर पाएका छन् । विज्ञान तथा प्रविधि क्षेत्रमा सरकारको लगानी निकै न्यून छ । विज्ञान र प्रविधि अनुसन्धानको क्षेत्रमा कुल गार्हस्थ उत्पादन-जीडीपीको शून्य दशमलब ३५ प्रतिशतमात्र बजेट छ । यसलाई बढाएर न्यूनतम १ प्रतिशत पुर्याउनुपर्ने नास्टको भनाइ छ । जबकि अन्य विकसित मुलुकले जीडीपीको झण्डै ५ प्रतिशतसम्म छुट्याएका छन् । तर नेपालमा यो क्षेत्र प्राथमिकतामा नपर्दा अधिकांश जनशक्ति विदेशिइरहेको छ भने नेपालमै केही गर्छु भन्नेहरुले पनि निरुत्साहित हुनुपर्ने अवस्था छ ।
‘उद्योग आफ्नौ धन्दामा गरिरहेको छ । एकेडमिक आफ्नै क्षेत्रमा छ । सरकारले खै रिसर्च सेन्टर साइन्टिस्टबाट केही आएन भनिरहेको छ । वैज्ञानीकहरु सरकारले केहि दिएन भन्ने छ । त्यसकारण यो संवादको ढोका खोल्न ढिला भएको मात्रै मैले अघि भनेको इन्डिकेट त्यातातीर गर्न खोजेकोे छु । लगानी बढाउनु पर्यो, त्यो पुष्ठभुमी बनाउनुपर्यो,’ नाष्टका सचिव डा. रविन्द्रप्रसाद ढकालले भन्नुभयो ।
विज्ञहरु भने सबैभन्दा मुख्य समस्या समन्वयको कमी रहेको बताउँछन् । कुनै पनि आविस्कार गर्न समय लाग्छ । तर नेपालमा कुन आविस्कार गर्ने भनेर केन्द्रित हुन नसक्दा समस्या आएको उनीहरुको भनाइ छ । त्यसमाथि विनियोजन गरिएका बजेटसमेत छरिने गरेका छन् ।
‘रिसोर्सहरु कन्सन्ट्रेट गर्नुपयो र प्रोडक्ट बेस्ड डेभलपमेन्ट गर्नुपर्यो । जस्तो ५ वर्षमा हामी आयूर्वेद प्रडक्टमा जाने हो की, भ्याक्सीनमा जानेहोकी, इन्ट्रमेन्टेसनमा जाने होकी । हामी कहाँ जाने ५, १०, २० वर्षमा रणणीतिक प्लानिङ हुनुपर्यो । त्यो अनुसार सरकारले थोरै थोरै लगानी गरेर अन्तबाट लगानी ट्रयाप गर्न सकिन्छ । नत्र भने खाली यहाँ भएन यहाँ भएन भनेर आफुबीचनै कोअर्डिनेसन भएन भने सबै मान्छेले आफ्नो जाने ठाउँ खोज्छन्, राम्रो अवसर,’ त्रिविका पूर्वप्राध्यापक, प्रकाश घिमिरेले भन्नुभयो ।
क्षमतावान र नेपालमै केही गर्न चाहने जनशक्ति अझै छन् । मात्र खाँचो छ- राज्यको प्रोत्साहन र काम गर्ने वातावरणको ।