दैलेखबासीको करोडौं डुबाएर रारा हाइड्रोका सञ्चालक फरार, स्थानीयको बिचल्ली

माघ १८, २०८१ |चक्र भण्डारी
दैलेखबासीको करोडौं डुबाएर रारा हाइड्रोका सञ्चालक फरार, स्थानीयको बिचल्ली

दैलेख । स्थानीय बासिन्दालाई शेयर दिने गरी रारा हाइड्रो पावरले अघि बढाएको पराजुली खोला जलविद्युत आयोजनाका सञ्चालक फरार भएपछि स्थानीयले धितो राखेको सम्पत्ति बैंकले लिलाम गर्ने प्रकृया अघि बढाएको छ ।

बैंकको ब्याज र किस्ता नबुझाएपछि निर्माणकै क्रममा अलपत्र छाडिएको २ दशमलव एक पाँच मेगावाटको रारा हाइड्रोपावर लिलामी हुन लागेको हो । करोडौं रकम डुबाएर रारा हाइड्रोपावरका नरसिंह मल्ल, हिमेन्द्र सिलवाल, शङ्करलाल बैद्य,मंगल विश्वकर्मा लगायतका शेयर सदस्यहरु फरार भएपछि चिन्तित स्थानीय हाल आएर बैंकले धितो लिलामीको सूचना निकालेपछि बिचल्लीमा परेका छन् ।

गाउँमा जलविद्युत आयोजना बन्यो भने विकाससँगै रोजगारी सिर्जना हुने आशा देखाएर डुंगेश्वर गाउँपालिका ४ पराजुली खोलामा २०६७ सालमा रारा हाइड्रोपावर डेभलपमेन्ड कम्पनीले काम सुरु गर्‍यो । ४ किलोमिटर नहर खनेर २ दशमलव १५ मेगावाट बिजुली निकाल्ने भन्दै ५० घरपरिवारको खेतबारीमा संरचना निर्माण गरियो त्यो पनि पछि पैसा दिने शर्तमा । संरचना निर्माणमा जग्गाधनी र अरु गाउँलेसमेत खटिए । जग्गाधनी र कामदारलाई शेयरधनी बनाउने भनेर रारा हाइड्रोले २५ हजारदेखि ५ लाखसम्म असुल असुल गर्‍यो । तर २०७६ सालयता कम्पनीका २१ जनै शेयरसदस्य सम्पर्कविहीन भएपछि ठगीमा परेका स्थानीय निराश छन् ।

आयोजनास्थलमा ६ वर्षदेखि ईडीएस, प्रो सोलुसन, मताप र नेचुरल कम्पनीका प्रतिनिधिहरु काम गरेबापतको करोडौँ रुपैयाँ पाउने आशामा कुरिहेका छन् । स्थानीयले शेयरबापत लाखौं रकम, काम गरेको ज्याला, जग्गाको मुआब्जा, र रासनबापत करोडौा रकम पाउनै छ । अब त झन् बैंकले धितो लिलाम सूचना बैंकलेको छ, यसले पीडितको भोकनिद्रा हराएको छ ।

शेयर सदस्यहरुले आफुखुसी खरिद गरेका करोडौँका समान कवाडीमा परिणत हुँदैगएका छन् । निर्माण भएका संरचना पनि जीर्ण बन्दैगएका छन् । सुरुमा ३२ करोडमा बनिसक्ने भएको आयोजनामा ४२ करोड खर्च भइसक्दासमेत आधा काम पनि भएको छैन । रारा हाइड्रोका शेयरसदस्यहरूको बदमासीले ठेकेदार र स्थानीयले दुख पाएको बुझाइ स्थानीय सरकारको छ ।

स्थानीयले कुने अवरोध नगरी आयोजना निर्माण गर्न दिए पनि कम्पनीले गरेको बेइमानीमाथि छानबिन हुन सकको छैन । त्यसैले पीडितले बैंकले थालेको लिलामी प्रक्रिया तत्काल रोकी दोषीलाई कारवाही गर्न माग गरेका छन् ।


Image

चक्र भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दैलेख संवाददाता हुन् ।