ताप्लेजुङ । कोशी प्रदेश सरकारले ‘नो केबलकार समूह’ लाई वार्तामा बोलाए पनि आन्दोलनरत समूहले मेची राजमार्ग र तमोर करिडोर बन्द रोकेको छैन । दोस्रो दिन पनि आन्दोलनकारीले यातायात सञ्चालन हुन दिएका छैनन् ।
प्रदेश सरकारले आह्वान गरेको वार्ताबारे आफूहरूलाई जानकारी नभएको र वार्तामा बस्नुअघि पक्राउ परेका कार्यकर्ता रिहा हुनुपर्ने, केबलकार निर्माणको काम रोकिनु पर्ने र काफ्लेपाटीबाट सशस्त्र र नेपाल प्रहरीको टोली फर्कनुपर्ने सर्त राखिने किरात याक्थुम चुम्लुङका अध्यक्ष प्रेम एक्तेनले बताउनुभयो ।
प्रहरीले नो केबलकार समूहका लक्ष्मण लिम्बू, चन्द्रसागर लिम्बू र प्रदीप मादेनलाई पक्राउ गरेको छ । लक्ष्मण र चन्द्रलाई माघ १२ गते र प्रदीपलाई हिजो पक्राउ गरिएको हो ।
माघ १२ गते प्रहरी र आन्दोलनकारीको झडपमा घाइते तीन जनाको शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । कोशी प्रदेश सरकारले गठन गरेको राजनीतिक तथा शान्ति वार्ता समितिले हिजो औपचारिक वार्ताको लागि आह्वान गर्ने निर्णय गरेको थियो । तर यो संघीय सरकारसँगको विषय भएकाले प्रदेश सरकारसँग वार्ता गर्नुको औचित्य नहुने पनि अध्यक्ष एक्तेनले बताउनुभयो ।
तथापि वार्ताका लागि पत्र आए त्यसपछि पुनर्विचार गर्न सकिने उक्त समूहले जनाएको छ ।