‘न्याय क्षेत्रमा भ्रष्टाचार व्याप्त, पेशामा प्रवेश गरेदेखि नै घुस दिनुपर्ने बाध्यता’

माघ १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘न्याय क्षेत्रमा भ्रष्टाचार व्याप्त, पेशामा प्रवेश गरेदेखि नै घुस दिनुपर्ने बाध्यता’

काठमाडौं । युवा कानुन व्यवसायीहरूले नेपालको न्यायपालिकामा भ्रष्टाचार व्याप्त रहेको औंल्याएका छन् । प्रथम युवा कानुन व्यवसायीको सम्मेलनका अवसरमा सार्वजनिक गरिएको प्रतिवेदनमा पेशामा प्रवेश गरेपछि नै घुस दिन सुरू गर्नुपर्ने बाध्यता रहेको उल्लेख छ । प्रतिवेदनले न्यायिक प्रक्रियालाई प्रविधिमैत्री बनाउन समेत सुझाएको छ ।

काठमाडौंमा बुधबारदेखि सुरू भएको युवा कानुन व्यवसायीको सम्मेलनमा सार्वजनिक प्रतिवेदनले न्याय क्षेत्रमा भ्रष्टाचार व्याप्त रहेको र पेशामा प्रवेश गरे लगत्तै भ्रष्टाचारको शृंखला सुरू हुने औंल्याएको छ । प्रतिवेदन प्रस्तुत गर्दै अधिवक्ता प्रज्वलराज ज्ञवालीले नेपालको न्यायिक क्षेत्र धरापमा रहेको बताउनुभयो ।

प्रतिवेदनमा अनलाइन सुनुवाइलाई प्राथमिकता दिनुपर्ने, बार र बेन्चको सम्बन्ध सुमधुर बनाउनुपर्ने तथा कानुन व्यवसायी परिषद्ले ल फर्महरूको निरीक्षण र अडिट गर्नुपर्ने पनि उल्लेख गरिएको छ । सम्मेलनमा युवा कानुन व्यवसायीहरूले सेवाग्राही इजलाससम्म पुग्न नसक्ने हुँदा डिजिटल सुनुवाइलाई अझ प्रभावकारी र सहज बनाउनुपर्नेमा जोड दिएका थिए ।

नेपाल बार एसोशिएशनका अधयक्ष गोपालकृष्ण घिमिरे तथा सर्वोच्च बार एसोशिएशनका पूर्वअध्यक्ष पूर्णमान शाक्यले भने बार र बेन्च मिलेर जानुको विकल्प नभएको बताएका थिए । सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाले महान्यायाधिवक्ता कार्यालयलाई मात्र अभियोजनको अधिकार दिइएकाले कानुनी संघीयतामा पनि प्रश्न उठेको बताउनुभयो ।

सम्मेलनमा कानुन व्यवसायका क्षेत्रमा प्रवेश गर्दा देखिएका समस्या र चुनौतीका विषयमा छलफल भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement