काठमाडौं । नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलत महिला टि-ट्वान्टी आई त्रिकोणत्मक सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ। टियू क्रिकेट मैदानमा घरेलु टोली नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको हो। एक सय ५८ रनको लक्ष्य पछ्याएको नेपाल एक सय ३७ रनमा समेटिएको थियो ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट मात्रै गुमाएर एक सय ५७ रन बनाएको छ। डच टोलीको लागि ओपनर फेबे कोल्केनबोर शून्यमा आउट भइन्। उनलाई कविता कुँवरले दोस्रो बलमै एलबिडब्ल्यु धरापमा पारिन्। तेस्रो नम्बरकी कप्तान ब्याट डे लिड पनि ६ रनमा नै आउट भएकी थिइन्। यससँगै नेदरल्यान्ड्सले नौं रन बनाउँदै दुई विकेट गुमाएर कमजोर सुरुआत गरेको थियो। तर अर्की ओपनर स्टेरी कालिसले २९ रनको योगदान गरिन्। उनले ३५ बलमा सो रन बनाएकी हुन्। त्यसपछि माइलेज पाएको डच टोलीको लागि रोबिन रिजेकीले ५९ रनको विस्फोटक इनिङ खेलिन्। हेदरले २३ र इरिस इसज्वेलिङले अविजित ३१ रन बनाइन् ।
बलिङमा नेपाली खेलाडीले ठिकठाक प्रदर्शन गर्यो । कप्तान इन्दूले सात खेलाडीलाई बलिङमा पठाएकी थिइन्। त्यसमध्ये कवितासँगै पूजा महत्तो, इश्वरी विष्ट र सिता राना मगरले एक-एक विकेट लिए। रुविनाले सबैभन्दा कम इकोनामीका बलिङ गरिन् ।
जवाफमा नेपालले पहिलो विकेट १७ रनमा गुमायो। सम्झना खड्का व्यक्तिगत ११ रनमा आउट भइन् । उनको विकेट इसज्वेलिङको नाममा रहृयो। डच बलरसामू नेपाली कुनै ब्याटर जोडीले लामो साझेदारी गर्न सकेनन्। कप्तान इन्दू बर्मा ७ र कविता कुँवर ८ रनमा आउट भए । मनोज कटुवालले रुविनो क्षेत्रीलाई पाँचौ नम्बरमा पठाएका थिए। उनी ११ रन बनाएर बाहिरिँदा नेपालले ५५ रनमा नै चार विकेट गुमाएको हो। त्यसपछि पूजा महतोले २४ रन बनाइन्।
शीर्ष क्रमकी सिता राना मगरले ४५ बल खेलेर २८ रन जोडिन्। अन्तिममा कविता जोशीले २७ रनको योगदान गरेको भए पनि नेपाल जित नजिकसम्म पनि पुग्न सकेन।
डच टोलीका क्यारोलिन डे लान र इभा लिन्चले समान दुई/दुई विकेट लिए। फ्रिडरिक ओभरलाइकले पनि एक विकेट लिएर नेपाली ब्याटरलाई पार्टनरसिप गर्न दिएनन्। अब नेपालले आफ्नो दोस्रो खेल माघ १९ गते थाइल्यान्डसँग खेल्नेछ। भोलि नेदरल्यान्ड्सले थाइल्यान्ड्ससँग खेल्ने तालिका छ ।