बाँके । देश र जनताका लागि जीवन बलिदान दिने शहिदहरूको सम्झनामा देशभर शहिद सप्ताह चलिरहेको छ । विभिन्न औपचारिक कार्यक्रमहरू भइरहेका छन् । तर राणाशासनविरुद्ध पश्चिम तराइमा किसान आन्दोलनको नेतृत्व गरेका शहिद बैजनाथ थारुको गाउँघरको अवस्थामा खासै सुधार आएको छैन । अहिले उनको गाउँमा संग्रहालय बनाउने काम भने भइरहेको छ ।
बाँके पेडारीमा रहेको यो घर पश्चिम तराईमा राणाशासन र त्यो बेलाका शासकसँगै शोषक जमिन्दारबिरुद्ध किसान आन्दोलको नेतृत्व गर्ने बैजनाथ थारुको हो । त्यतिबेला यो घर भने थिएन । सानो छाप्रो थियो । त्यही जन्मनु भएको थियो क्रान्तिकारी किसान नेता बैजनाथ थारु । राणाशासनविरुद्ध पश्चिम तराइमा किसान आन्दोलनको नेतृत्व गरेका थारुलाई बस्तीनै घेरा हालेर भारतीय सैनिकले आक्रमण गरेका थिए । उहाँ गम्भीर घाइते हुनु भएको थियो । २००७ साल चैत्र १४ गते नेपालगन्जमा उपचार गर्दागर्दै उहाँको मृत्यु भयो । कमाण्डो पोशाकमा हातहतियारसहित पुगेका भारतीय सैनिकले चारैतिरबाट पेडारी बस्ती घेराउ गर्दै आक्रमण गरेको प्रत्यक्षदर्शी बताउँछन् । त्यो क्षण निकै भयावह बनेको थियो ।
‘सबै सँग संगीनदार बन्दुक थियो । सबै कालो पोशाकमा आएका थिए । बुट पनि कालै देखिन्थे । अनि फलामको टोपी । नाक मुख मात्र देखिन्थो,‘ प्रत्यक्षदर्शी तथा बैजनाथका काका सुखलाल थारुले त्यो दिन सम्झिनु भयो ।
यो बस्तीमा जातीय र भाषिक विविधता भएपनि थारु समूदायको बाहुल्यता छ । बैजनाथ समाजवादी जननेता विपी कोइरालाका अनुयायी तथा आदर्शवादी युवा नेता हुनुहुन्थ्यो । राणशासनको अन्त्य र प्रजातन्त्रको बहाली लगत्तै क्रान्तिकारी नेपाली काँग्रेसले उहाँलाई शहीद घोषणा गरेको थियो । ‘भारतीय सेना रुपैडिहा हुँदै नेपालगन्ज बजारको पश्चिम तिरबाट आए । अनि घर नजिकै आएर उभिए,’ सुखलाल थारूले सुनाउनु भयो ।
अदम्य साहस, दृढ संकल्प र आत्मविश्वासका प्रतिमूर्ति मानिनु हुने बैजनाथ अशिक्षति भएपनि राजनीतिक चेतनाले भरिनु भएको थियो । पश्चिम तराईका जिल्लासँगै देशैभर जमिन्दार र राणा शासकको अन्याय, अत्याचार, शोषण र दमन बढ्दै गएको देखेपछि क्रान्तिको बाटो रोज्नु भएको राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर बताउनु हुन्छ ।
बैजनाथको योगदानको संझनामा बाँकेमा एउटा संग्राहलय निर्माण हुँदैछ । बैजनाथको योगदानको महत्व नयाँ पुस्तालाई बुझाउन आवश्यक रहेको पेडारी बाँकेका युवा नेतृ श्रीदेवी थारु बताउनु हुन्छ ।
हतियार सहित छिरेका सेनाको आक्रमणबाट जोगिन बैजनाथ धानको भकारीमा लुके पनि खोजेर नियन्त्रणमा लिए र मरणासन्न अवस्थामा छाडेर फर्के । यो ऐतिहासिक ग्रामिण बस्तीमा अझै विकासले गति लिन भने सकेको छैन ।