इलाम । दुई सय वर्षअघिको इतिहास स्मरण गर्दै इलाममा निसान पदमार्ग सुरू गरिएको छ । सुगौली सन्धिपछि हाल भारतको दार्जिलिङस्थित नागरीगढीमा रहेको तत्कालीन नेपाली सेनाले इलाम आएर मुकाम कायम गरेको थियो । यही ऐतिहासिक तथ्यलाई स्मरण गर्दै यस क्षेत्रको पर्यटन विकासमा ठोस योगदान पुर्याउने उदेश्य सहित पदमार्ग खोलिएको हो ।
सीमावर्ती छब्बिसेबाट इलामसम्मको ४१ किलोमिटर लामो पदमार्ग कस्तो छ त ?
नेपाल एकीकरणताका टिस्टा नदीसम्मको भूभाग हेर्न हाल भारतको दार्जिलिङस्थित नागरीगढीमा सेनाको क्याम्प थियो । सुगौली सन्धिपछि करफोकको पूर्णेडाँडा, नाम्सालिङको हात्तिटार हुँदै इलामसम्म निसान ल्याइएको इतिहास छ । नेपाली फौजको तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भूभाग विजय गरेर गाडिएका निसान जुन बाटो भएर फर्काइएको थियो, त्यही बाटो संरक्षण गरी पर्यटन प्रवर्द्धनका लागि पदमार्ग थालनी गरिएको हो ।
निसान पदमार्गले इलाममा मुख्य बसोवास रहेको लोपोन्मुख लेप्चा सहित विभिन्न जातजातिको पुरानो थातथलोको इतिहास झल्काउने, नेपालको पुरातात्त्विक सम्पदाबारे नयाँ पिँढीलाई जानकारी पुग्ने विश्वास छ ।
नेपाल-भारत सीमा छब्बिसेस्थित मेची बजारबाट सुरू गरिएको पदयात्रा शुक्रबार इलाम सदरमुकाम आइपुग्यो । पदयात्रीलाई स्थानीयले ठाउँ-ठाउँमा सांस्कृतिक कार्याक्रमले स्वागत गरे । इलाम र सूर्योदय नगरपालिका तथा माइजोगमाई गाउँपालिकाले संयुक्तरूपमा पदयात्रा आयोजना गरेका हुन् । पदममार्गलाई व्यवस्थित बनाउदै आवश्यक पूर्वाधार विकास गर्न सम्बन्धित पालिकाहरूले प्रतिबद्धता जनाएका छन् ।
एकीकरणका क्रममा पूर्वमा टिस्टा नदीसम्म पुगेको नेपालको सीमा सुगौली सन्धिपछि अहिलेको बिन्दु (मेची नदी) कायम भएको थियो । नेपाली सेनाको तत्कालीन श्रीनाथ पल्टनले पुरानो सीमाबिन्दु नागरीगढीमा गाडेको निसान सुगौली सन्धिपछि १८७५ सालमा इलाम ल्याइएको थियो । नागरीगढीबाट ल्याइएको निसान र तोप इलामको माइस्थान मन्दिरमा नेपाली सेनाको निगरानीमा राखिएको थियो ।