अनलाइन ठगीको नयाँ रूप ‘डिजिटल अरेस्ट’, ६ महिनामै ६० करोड ठगी

माघ १०, २०८१ |प्रकाश बम
अनलाइन ठगीको नयाँ रूप ‘डिजिटल अरेस्ट’, ६ महिनामै ६० करोड ठगी

काठमाडौं । नेपालमा प्रहरीकै उच्च अधिकारीहरूको नाममा सर्वसाधारणलाई धम्की दिँदै ईमेल पठाउने गिरोह सक्रिय भएको छ । यस विषयमा नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ । इन्टरनेट मार्फत गरिने यो अनलाइन ठगिलाई ‘डिजिटल अरेस्ट’ भनेर चिनिन्छ ।

भारतमा फैलिएको अनलाइन ठगीको यो नयाँ रूप ‘डिजिटल अरेस्ट’ नेपालमा पनि देखिन थालेको हो । नक्कली प्रहरी बनेर सर्वसाधारणलाई फोन गर्ने र गैरकानुनी गतिविधिमा संलग्न भएको गलत आरोप लगाएर ठगी गर्ने क्रम बढेको हो । चालु आर्थिक वर्षको ६ महिनामै ६० करोड रकम डिजिटल माध्यमबाट ठगी भएको प्रहरीको तथ्याकं छ । ‘डिजिटल अरेस्ट’ के हो र यसबाट कसरी जोगिने ?

अनलाइन ठगीका गिरोहले प्रहरीका उच्च अधिकारीको नाममा धम्कीपूर्ण शैलीमा इमेल पठाउने क्रम बढेपछि प्रहरी प्रधान कार्यालयले यही माघ ८ गते विज्ञप्ति नै जारी गरेको छ । प्रहरी महानिरीक्षकको सचिवलयद्वारा जारी गरिएको विज्ञप्तिमा यस्ता प्रकृतिको इमेलमा विश्वास नगर्न र कुनै प्रतिक्रिया नदिन आग्रह गरिएको छ । यससम्बन्धमा कुनै जानकारी भए साइबर ब्यूरोको इमेल र फोन नम्बर ५३१९०४४ मा जानकारी गराउन पनि प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ । 

नेपाल प्रहरीका एआइजी टेकप्रसाद राईलगायतका वरिष्ठ अधिकारीका नाममा पठाइने यस्ता नक्कली इमेलमा सम्बन्धित व्यक्तिको इन्टरनेटबाट अश्लील वेबसाइटमा पहुँच गरेको देखिएकाले अनुसन्धानमा सहयोग गर्न २४ घण्टाभित्र इमेलको रिप्लाई गर्न भनिएको हुन्छ । इमेलको रिप्लाई नदिए कानुनी कारबाहीमा पर्ने र ५ वर्षसम्मको जेल सजाय हुने भन्दै धम्की दिने गरिएको नेपाल प्रहरी साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिनुभयो । 

विभिन्न व्यक्तिलाई अदालतको आदेशबमोजिम नेपाल प्रहरीको साइबर ब्यूरो, केन्द्रीय अनुसन्धान विभाग तथा राष्ट्रिय अनुसन्धान केन्द्रको छानबिनको दायरामा परेको भन्दै नक्कलि इमेल गर्ने गरिएको छ । प्रयोग गरिएका साइट तथा हेरिएको भिडियो र डिलिट गरिएका सम्पूर्ण डाटाहरू आफ्नो प्रयोगशालाबाट निकाल्न सक्ने क्षमता रहेको भन्दै थप डर देखाइन्छ र समस्या समाधान गरिदिन्छु भन्दै पैसा माग्ने गरिन्छ ।

नेपालमा यस्ता गिरोहको निशानामा व्यापार व्यवसाय गर्नेदेखि विभिन्न पेशामा रहेर राम्रो आम्दानी गर्ने व्यक्ति तथा सर्वसाधारणसम्म पर्न थालेका छन् । यस्तो ईमेल आएको भन्दै प्रहरीमा गुनासो आएपनि कति रकम ठगी भयो भनेर उजुरी भने आइसकेको छैन । साइबर व्युरोको प्रारम्भिक अनुसन्धानले प्रहरीका उच्च अधिकारीको नाम दुरुपयोग गरेर आएका ईमेलहरू जर्मनीको डोमेनका रहेको पत्ता लगाएको छ । यसबारेमा थप अनुसन्धान भइरहेको नेपाल प्रहरीका प्रवक्ता दिनेश आचार्यको भनाइ छ । 

केही समययता भारतका उत्तरप्रदेश, मध्यप्रदेश, राजस्थान, महाराष्ट्र तथा हरियाणालगायतका राज्यमा अनलाइन ठगीको जालो निकै फैलिएको छ । ‘डिजिटल अरेस्ट’ नाम दिइएको यस्ता ठगीअन्तर्गत गिरोहले उद्योगी तथा पेशाव्यवसायका मानिसलाई नक्कली सरकारी अधिकारी बनेर ह्वाट्सएप मार्फत् भिडियो कल गर्छन् र विभिन्न डर धम्की देखाएर रकम असुल्छन् अनि सम्पर्कविहीन हुन्छन् । नेपालमा सुरू भएको यो अपराध पनि त्यसैको रूप भएको प्रहरी अधिकारीको भनाइ छ । तर, यसरी धम्कीपूर्ण इमेलपछि के भयो भन्नेचाँहि स्पष्ट भएको छैन, प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ । नेपालमा साइबर सुरक्षासम्बन्धी ज्ञानको कमीका कारण अनलाइन ठगीको जोखिम झन् बढी रहेको साइबर सुरक्षा विज्ञ विजय लिम्बुको दाबी छ । तर कतिपय अवस्थामा साइबर ज्ञान भएका मानिस पनि ठगिएका छन् ।

नेपालमा पछिल्लो समय साइबर अपराधका घटना बढिरहेका छन् । चालु आर्थिक वर्षको ६ महिनामा अनलाइन ठगीलगायतका साइबर अपराधका ९ हजार ८ सय ५३ उजुरी दर्ता भएका छन् भने ६० करोड रकम डिजिटल माध्यमबाट ठगी भएको नेपाल प्रहरीको तथ्यांक छ ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement