जलवायु परिवर्तनले मौसमी चक्रमै प्रभाव, माघको मध्यसम्म पनि हिमाली भेगमा भएन हिमपात

माघ १०, २०८१ |विकास आचार्य
जलवायु परिवर्तनले मौसमी चक्रमै प्रभाव, माघको मध्यसम्म पनि हिमाली भेगमा भएन हिमपात

काठमाडौं । तराईमा शितलहर अनि हिमाली क्षेत्र हिउँबिहीन । यता काठमाडौं उपत्यकामा भने माघको दोस्रो सातादेखि नै गर्मी महसुस हुन थालेको छ । आज काठमाडौंको अधिकतम् तापक्रम २३ दशमलव ६ डिग्री सेल्सियस मापन भयो । अर्थात् चैत-वैशाखको जस्तो गर्मी । काठमाडौंमा मात्रै होइन, पूर्वी र मध्य पहाडि जिल्लाका नागरिकले पनि हिजोआज गर्मी महसुस गरेका छन् । पश्चिम नेपाल र पूर्वी तथा मध्य तराईमा हुस्सु र कुहिरोले जनजीवन कष्ठकर भइरहेका बेला कतै भने उखरमाउलो गर्मी किन हुँदैछ त ? 

गत वर्षको माघ ४ गते र यो वर्षको माघ ४ गते काठमाडौंको अघिकतम् तापक्रम १८ दशमलव ५ डिग्रि सेल्सियसमा सीमित थियो । गत वर्ष फागुन लाग्दा मात्रै काठमाडौंमा गर्मीको महसुस गरिएकोमा यो वर्ष माघ ६ गतेदेखिनै गर्मी महसुस हुन थालेको छ । माघ १० सम्म आइपुग्दा काठमाडौंको अधिकतम् तापक्रम २३ डिग्रि भन्दा बढी पुगेको छ । अर्थात् काठमाडौंमा दिउँसो चर्को घाम लाग्दा गर्मी महसुस हुन थालेको हो । माघको ४ गतेसम्म घाम ताप्न निस्किनेहरू अहिले सितल खोज्न थालिसकेका छन् । मौसम पूर्वानुमान महाशाखाले काठमाडौंसहित पूर्वी र मध्य पहाडी जिल्लाहरुमा तापक्रम बढ्दै गएको बताएको छ । महाशाखाका अनुसार दिपायल, वीरेन्द्रनगर र घोराहीको अधिकतम् तापक्रम २५ डिग्रीभन्दा माथी छ । यो क्रम बढ्दै जाने वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी ३ महिना औसतभन्दा बढी तापक्रम रहने आंकलन गरेको छ । त्यस्तै वर्षा पनि औषतभन्दा कम हुने पूर्वानुमान छ । विभागका अनुसार सन् २०१६ सबैभन्दा तातो वर्ष थियो । जहाँ वर्षभरिको औसत तापक्रम १५ दशमलव ६८ डिग्रि रहेकोमा त्यसयताका वर्षमा केही घटे पनि पुन: सन् २०२१ देखि तापक्रम बढ्दो क्रममा छ । २०२१ मा औसत तापक्रम १५ दशमलव ३० डिग्री रहेकामा यो वर्षको माघमै औषत १५ दशमलव १९ डिग्री पुगिसकेको छ । मौसमविद् सुदर्षन हुमागाईका अनुसार प्रत्येक वर्ष शून्य दशमलव ०५६ डिग्री सेल्सियसले तापक्रम बढीरहेको छ । त्यस्तै न्यूनतम तापक्रम पनि शून्य दशमलव ००२ डिग्री सेल्सियसले वृद्धि भइरहेको छ । यसको प्रमुख कारण जलवायु परिवर्तन नै रहेको दाबी अनुसन्धानकर्ता बिनोद पराजुलीको दाबी छ ।

नेपालमा जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव देखिँदै आएको छ। तापक्रम वृद्धि, अतिवृष्टि, अनावृष्टि यसका प्रमुख उदाहरण हुन् । तापक्रममा भएको यो फेरबदल नेपाल एक्लैको प्रयासबाट नियन्त्रणमा भने आउँदैन । यसका लागि सरकारले विश्व जलवायु सम्मेलनलगायतका अन्तर्राष्ट्रिय फोरमहरूमा प्रमाणसहित जलवायु परिवर्तनको असर र प्रभावको मुद्दा थप बलियोसँग उठाउन सक्नुपर्छ । योसँगै जलवायु परिवर्तनले गराउन सक्ने क्रियाकलाप रोक्न आन्तरिक रुपमा पनि उत्तिकै पहल गर्नुपर्छ ।

यो पनि हेर्नुहोसः


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement