काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्न नसकिएको र आवश्यक लगानी पनि हुन नसकेको स्वीकार गर्नुभएको छ ।
कान्तिपुर मिडिया ग्रुपले पोखरामा आयोजना गरेको 'गन्तव्य गण्डकी' विषयक अन्तक्रिर्या कार्यक्रमको तेस्रो सत्र 'मूल सरोकार : शिक्षा, स्वास्थ्य र रोजगार' मा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा भएका लगानीले पनि प्रतिफल दिन नसकेको बताउनुभयो ।
उहाँले गुणस्तरीय स्वास्थ्य सुविधाका लागि संरचनागत तथा नीतिगत सुधार गर्नुपर्ने औंल्याउँदै नीति तथा कानुन प्रभावकारी हुने गरी परिवर्तन गर्नु जरुरी रहेको बताउनुभयो । मन्त्री पौडेलले स्वास्थ्य सेवा लिन एक सय रुपैयाँमा ५४ रुपैयाँ आफ्नै गोजीबाट खर्च गर्नुपर्ने अवस्थाका कारण बर्सेनि ५ लाख नेपाली गरिबीको रेखामुनि गइरहेको स्थिति रहेको बताउनुभयो । जनशक्ति खर्च विदेशिनुमा पनि राज्य र जाने पक्ष दुवै दोषी रहेको उहाँको भनाइ छ ।
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं संघीय पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले नेपाली जनशक्तिलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउँनुपर्ने औंल्याउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्ष चन्द्र ढकालले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गरेर दक्ष जनशक्ति तयार पार्न सघाउनुपर्ने बताउनुभयो ।
पहिलो सत्र 'राजनीति र पर्यटन नीति' मा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले पर्यटनबाट हुने फाइदाहरुलाई घर घर र गाउँ-गाउँमा पुर्याउनुपर्ने बताउनुभयो ।
दोस्रो सत्र 'साहसिक यात्रा, स्वप्निल गन्तव्य' मा पर्यटन व्यवसायीहरुले पर्यटकलाई आकषिर्त गर्न सेवामा विविधता दिनुपर्ने, परियोजना सञ्चालनमा सरकारले आवश्यक सहयोग गर्नुपर्ने तथा पर्यटन क्षेत्रमा महिलालाई पनि अवसर दिनुपर्ने बताएका थिए ।