काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालको लोकतन्त्रमा संघीयताको आवश्यकता देखेरै संघीयताको स्थापना गरेको बताउनु भएको छ ।
कान्तिपुर मिडिया ग्रुपले बुधबार पोखरामा आयोजना गरेको ‘गन्तव्य गण्डकी’ विषयक अन्तर्क्रियात्मक कार्यक्रमको चौथो सत्रमा बोल्दै उहाँले मुलुकको विशेषताको आधारमा संघीयता स्थापना गरिएको बताउनुभएको हो ।
उपाध्यक्ष श्रेष्ठले संघीयता नै सबै समस्याको जड हो भन्ने दृष्टिकोण वा संघीयता सबै समस्याको समाधान हुने जादुको छडी हुन् भन्ने दृष्टिकोण गलत भएको औंल्याउनु भयो ।
‘यो संघीयतालाई हामीले कसरी बुझ्ने ? संघीयता नै सबै समस्याको जड हो भन्ने दृष्टिकोण वा संघीयता सबै समस्याको समाधान हुने जादुको छडी हुन् भन्ने दृष्टिकोण गलत छ,’ चौथो सत्र ‘संघीयता : भार कि अधिकार ?’ मा उनले भने, ‘ लोकतन्त्रमा संघीयता हुन पनि सक्छ वा नहुन पनि सक्छ । कुनै पनि देशको विशेषताको आधारमा लोकतन्त्रमा संघीयता आवश्यक छ कि छैन भनेर निर्णय गरिन्छ । हाम्रो नेपालको सन्दर्भमा नेपालको लोकतन्त्रमा संघीयता आवश्यक छ भनेर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना गरेका हौँ,’ उहाँले भन्नुभयो ।